सडकबाट उद्धार गरिएका १३ जनामा कोरोना संक्रमण



काठमाडौँ, भदौ १४ । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा एक महिला आफ्नो सानो बालकसँगै थिए । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उनले न कुनै काम गरेर कमाउन सक्थे, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक, प्यासले आलसतालस सडकमा बसिरहेका आमा–छोराको अबस्थाबारे स्थानीय व्यक्तिमार्फत सामाजिक सञ्जालमा सार्वजनिक भयो ।

त्यही सूचनाका आधारमा मानवसेवा आश्रमले दुई दिनअघि आमा–छोराको उद्धार गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा दुवैमा कोरोना पोजिटिभ देखियो ।  आश्रमका प्रवक्ता सुमन बर्तौला पछिल्लो समयमा यसरी उद्धार गरिएका बेसहाराहरुमा कोभिड–१९ सङ्क्रमण देखिन थालेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म यसरी सडकबाट उद्धार गरिएका १३ जनामा सङ्क्रमण देखिइसकिएको छ । सङ्क्रमितलाई आश्रमको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

सडकपेटीमा बस्ने र खानेकुरा टिपेर खाने बेसहारा, मनोरोगी तथा असहायमा पनि कोभिड–१९ देखिँदा उनीहरुको व्यवस्थापनमा थप चुनौतीपूर्ण बनेको छ । सडकका बेसहारा सङ्क्रमित भएकाले उद्धारमा खटिएका अभियानकर्मीमा समेत सङ्क्रमणको जोखिम बढेको छ । सेवाकै क्रममा केही सङ्क्रमित भएकाले उनीहरुको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

विगतमा अन्य सर्वसाधारण नागरिकलाई कोरोना लाग्दा राजधानीका सडकका बेसहारामा देखिएको थिएन । साउनपछि भने देखिन थालेको हो । कसरी उनीहरुमा सङ्क्रमण गयो भन्ने यकिन भएको छैन । त्यस विषयमा अध्ययन पनि हुन सकेको छैन तर सडकमा स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोग गर्न नजान्ने हुनाले उनीहरु जोखिम वर्गमा पर्नु स्वाभाविक भएको चिकित्सकले भनाइ छ ।

कतिपय अवस्थामा सावधानी विना सडकमा खाना खुवाउने गरिएको छ । त्यसबाट पनि सङ्क्रमण हुनसक्छ । मास्कलगायत मानिसले प्रयोग गरेका स्वास्थ्य सामग्री निसङ्क्रमण नगरी फोहरमा फालिने गरेका छन् । त्यसबाट कवाड टिप्न जाँदा वा खानेकुरा खोज्न जाँदा पनि उनीहरुमा सङ्क्रमण हुनसक्ने नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की बताउछन् । भीडभाड भएको क्षेत्रमा कहिलेकाहीँ उनीहरु पुग्छन् ।

स्वास्थ्य सामग्रीको प्रयोग गर्नेबारे ज्ञान नहुँदा त्यसतो बेला सजिलै सर्ने सम्भावन रहन्छ । “कवाडी खोज्ने क्रममा, सङ्क्रमितसँगै खाना खाँदा, सङ्क्रमितबाट खानेकुरा वा पैसा लिँदा पनि सर्न सक्छ”, डा कार्कीले रासससँग भने, “र्याल , सिङ्गान, खकार लागेका मास्कलगायत सामग्री वा रुमाल, जुठो बोतल फ्याँकिएको हुनसक्छ, त्यस्ता सामग्रीमा निकै समयसम्म भाइरस रहनसक्छ, उनीहरुले त्यो टिपेर प्रयोग गरे भने पनि सर्छ ।”

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्