घ्याङफेदीमा जोखिमयुक्त ढुंगा व्यवस्थापन गर्न बस्ती सार्ने प्रक्रिया थालियो, ३५ घरपरिवारलाई टेन्ट वितरण



नुवाकोट भदौ १५ । जिल्लाको दुप्चेश्वर गाउँपालिका १ (साविक घ्याङफेदी गाविस ३) को बस्ती माथिको (बोत गाङ) ठूलो ढुंगाले बस्ती नै जोखिममा पारेपछि स्थानान्तरणको प्रक्रिया सुरु गरिएको छ ।

संघीय सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका सन्तमान तामाङ लगायतको पहलमा बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र ढुंगाको व्यवस्थापन गर्ने प्रक्रिया थालिएको हो । नेगीका ३५ घर प्रत्यक्ष रुपमा जोखिममा पर्ने भएकोले जिल्ला विपद व्यवस्थापन समितिमार्फत आइतबार टेन्ट प्रदान गरिएको छ । संघीय सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, दुप्चेश्वर गाउँपलिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङ, उपाध्यक्ष अन्जु आचार्य, इलाका प्रशासन कार्यलय सातबिसेका प्रमुख दयाराम पौडेल लगायतको टोली नेगीमा नै पुगेर टेन्ट उपलब्ध गराएको हो ।

स्थानीय नेकपाका नेता लालबहादुर तामाङले घ्याङफेदीको बोत गाङ्ग भन्ने ठाउँमा परापूर्वकालदेखि रहिरहेको करिब २० लाख टन बराबरको चट्टान र त्यसले बनाएको ओडार (पलसङ्ग ऊ) मा उक्त ढुङ्गा आसपास र तल्लोपट्टी बस्ने स्थानीयबासीहरुले सामानहरु राखेर उपयोग गर्दै आइरहेकामा जमिनबाट करिब एक मिटर छुटिएकोले सम्भावित दुर्घटनाबाट जोगिन बस्ती स्थानान्तरण गर्न लागिएको बताए । कार्यक्रममा
संघीय सांसद तामाङले प्रत्येक पीडित परिवारलाई राज्यको तर्फबाट गर्न सक्ने सहयोग र पीडितहरुलाई राम्रोसँग व्यवस्थापन गर्न जिल्ला समन्वय समिति, दुप्चेश्वर गाउँपालिका वडाका प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

२०७२ वैशाख १२ को भूकम्पको कारण डगमगिएको ढुङ्गाले वर्षातको कारण जमिन छोड्न थाले पछि सम्भावित जोखिमलाइ मध्यनजर गर्दै गाउपालिका ढुङ्गा व्यवस्थापन तर्फ लागेको हो । आइतबार २८ घर परिवारलाई टेन्ट उपलब्ध गराइएको र बाँकी ७ परिवारको लागि लगिएको टेन्ट वडा कार्यालय मार्फत प्रदान गरिने गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङले बताए । उनको अनुसार तीन दिन भित्रमा जोखिममा परेका परिवारलाई अस्थायी बसोवासको प्रबन्ध मिलाइसक्न गाउँपालिकाले आग्रह गरेको छ ।

तस्बिर : लालबहादुर तामाङ नेकपा नेता

प्रतिक्रिया दिनुहोस्