निको हुनेको दर बढ्यो, चार दिनमा नौ हजार संक्रमित निको भए



काठमाडौं, भदौ २५ । पछिल्लो दिन यता कोरोना संक्रमित निको हुनेको संख्या ह्वात्तै वृद्धि भएको छ। बितेको चार दिनमा कोरोना भाइरसका करिब नौ हजार सङ्क्रमित निको भई घर फर्केका छन् । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै दुई हजार २ सय ८७ जना सङ्क्रमित निको भई घर फर्केका छन् । दैनिक सङ्क्रमित पुष्टि हुने संख्या औसतमा यथावत रहँदा सङ्क्रमित निको हुने दर भने बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार भदौ १९ गते शुक्रबारदेखि भदौ २३ गते पाँच दिनभित्र आठ हजार ७ सय ५७ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

उक्त अबधिभित्र पाँच हजार २६१ जना नयाँ सङ्क्रमित पहिचान गरिएका छन् । सङ्क्रमितको संख्या वृद्धि हुनु र थोरै संख्यामा मुक्त हुने हुँदा भदौ तेस्रो सातासम्म करिब ५२ प्रतिशतमा झरेको निको हुने दर भदौ अन्तिम साताको सुरुवातसम्म ६८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६८.४८ प्रतिशत सङ्क्रमित निको भएका छन् । ३०.८९ प्रतिशतमा सङ्क्रमण सक्रिय छ । शुन्य दशमलब ६४ प्रतिशत सङ्क्रमितले ज्यान गुमाएका छन् । तीन सय छ जना सङ्क्रमितको मृत्यु भएको छ ।

होम आइसोलेशन र संस्थागत् आइसोलेशनमा बसेपनि निको हुने संख्या उल्लेख्य देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । जनस्वास्थ्यविद् डा. रबिन्द्र पाण्डेले भने बिरामीको औसत उमेर समूह, दीर्घरोगी रहे नरहेको तत्वमा निको हुने दर निर्भर रहेको बताउछ्न । नेपालमा हालसम्म ४८ हजार १३८ जना सङ्क्रमित भएका छन् । जसमध्ये करिब ३७ हजार सक्रिय उमेर समूह ९२१ वर्षदेखि ५० वर्ष०का छन्

यद्दपी नियमित चिकित्सकीय परामर्श र आइसीयू, अक्सिजनको उपलब्धताले मृत्यु दर घटाउनुका साथै थोरै भएपनि निको हुने दर प्रभाबित हुने उहाँको तर्क छ । तर मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले भने अधिकांश होम आइसोलेशन र संस्थागत् आइसोलेशनमा बसेर निको भएकोले उपचार पद्धतीले फरक नपारेको दाबी गरे । उनी भन्छन् , “कोभिड–१९ मा डेडिकेटेड कुनै उपचार छैन्, अधिकांश घरमै वा संस्थागत् आइसोलेशनमा स्वतः कोरोनामुक्त भएका छन् ।”

तर संस्थागत् आइसोलेशन सेन्टरमा बस्दाबस्दै सघन उपचार नपाएर प्रदेश २ मा कतिपय बिरामीले ज्यान गुमाएका छन् । जनस्वास्थ्यविद् डाक्टर पाण्डेले एकजनाको ज्यान पनि महत्वपूर्ण हुने हुनाले आइसोलेशन सेन्टर र अस्पताल दुबैमा नियमित चिकित्सकीय परामर्श, अक्सिजन, आईसीयू र भेन्टिलेटरको सुविधा हुनुपर्ने तर्क गर्छन् ।

सङ्क्रमितले आइसोलेशन सेन्टरमा चिकित्सकीय सुबिधा समयमै उपलब्ध नभएको गुनासो गर्दै आएका छन् । हाल १४ हजार ८६८ जना आइसोलेशनमा छन् । जसमध्ये छ हजार १५ जना होम आइसोलेशनमा छन् । काठमाडौं उपत्यकामा संस्थागत् आइसोलेशन अस्पतालमा बस्ने बढी छन् ।

सङ्क्रमण नियन्त्रणमा आइसकेको छैन् । निको हुने दर बढेपनि सङ्क्रमण अस्थिर देखिएको छ । जसले गर्दा निको हुने दर बढेपनि वृद्ध सङ्क्रमित बढेसँगै मृत्युदर बढ्न सक्ने जनस्वास्थ्यविद् डाक्टर पाण्डेले तर्क गर्छन् । यस्तो अवस्थामा देशैभरिको अस्पताल र आइसोलेशन सेन्टरमा चिकित्सकीय सुविधा र परामर्श महत्वपूर्ण हुन जाने उनले आवश्यकता औंल्याएका छन् ।

यो समाचार गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्