दुप्चेश्‍वरको सिसिपुवासीलाई सार्न ११४ थान टेन्ट पुर्‍याइँदै, संघीय सांसदको टोली पनि पहिरोस्थलमा



नुवाकोट भदौ २६ । दुप्चेश्वर गाउँपालिका वडा नं. १ सिसिपुमा हालैको वर्षापछि आएको पहिरोका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न ११४ थान टेन्ट शुक्रबार बिहान त्यसतर्फ पठाइएको छ ।

बिहीबार राति काठमाडौंबाट आइपुगेको टेन्ट जिल्ला प्रशासन कार्यालयबाट दुप्चेश्वरतर्फ पठाउन शुक्रबार बिहान लोड गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । राहत र आवश्यक साम्रगी पुर्‍याउन राति अबेरसम्म खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, ढुवानीमा संलग्न सवारी चालक र जिल्ला प्रशासन कार्यालय एवं जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीहरुप्रति प्रजिअ ढकालले धन्यवाद दिएका छन् ।

उनले अब नेगी र सिसिपुका जोखिममा परी विस्थापित परिवारलाई तत्कालका लागि खाद्यान्न व्यवस्था गर्ने, खानी तथा भूगर्व विभागबाट भूगर्वविदकोसहितको टोलीबाट अध्ययन र उक्त बस्तीलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरणका लागि गृह मन्त्रालयसँग समन्वय गर्ने योजना रहेको समेत जानकारी दिए ।

संघीय सांसदको टोली स्थलगत निरीक्षणमा
नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हितबहादुर तामाङको नेतृत्वमा शुक्रबार बिहान सिसिपुतर्फ एक टोली लागेको छ । विस्थापित नागरिकको अवस्था बुझ्न र आफ्नो पहलबाट गर्न सकिने कार्यका लागि स्थलगत अध्ययनका लागि संघीय सांसद तामाङको टोली त्यसतर्फ लागेको हो ।

टोलीमा जिल्लाका उच्च पदस्थ व्यक्तिहरु, विभिन्न दलका प्रतिनिधि, नेकपाका नेता र केही सञ्‍चारकर्मीसमेत सहभागी छन् ।

सांसद तामाङको पहलमा यसअघि घ्याङफेदीको नेगी बस्तीका २९ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । नेगी बस्तीमाथि ठूलो ढुंगा सरेको र त्यो ढुंगा झरेमा ठूलो जनधनको क्षति हुने भन्दै ती घर परिवारलाई सारिएको हो ।

२०७२ मै सार्न सुझाव थियो
२०७२ सालको महाभूकम्पपश्चात् खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौंद्वारा जुलाई २०१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सिंहदरबार काठमाडौंमा पेस भएको “A Report on Geological Assessment of Earthquake Affected Settlement Area, Nuwakot District ” को प्रतिवेदनको बुँदा नं.८.३.४ अनुसार साविक घ्याङफेदी गाउँ विकास समिति वडा नं ६ (हाल दुप्चेश्वर गाउँपालिका वडा नं. १ सिसिपु)मा रहेको बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्ने उल्लेख भएको व्यहोरा अनुरोध छ । प्रतिवेदनमा बस्तीभन्दा माथि धेरै संख्यामा ढुंगाहरु अस्थिर अवस्थामा रहेको, स्थानीय बासिन्दाहरुको भनाइअनुसार उक्त बस्ती र खेतीयोग्य जमीनमा चिरा परेको, बस्ती दबिएको देखिएको, ६ वटा घरहरु पहिरोको टुप्पोमा रहेको, निरीक्षणकै क्रममा पार्टेन डाँडामा २०-३० सेन्टीमिटर गहिरो र १५ मिटर चौडाइका चिराहरु स्पष्ट रुपमा देखिएको, सिसिपु गाउँको उत्तरपट्टी भर्खरै पहिरो गएको देखिएको र स्थानीय बासिन्दाका अनुसार सो गाउँमा पानीको मुहान समेत सुकेकोले उक्त जोखिमयुक्त बस्तीका २८ घरपरिवारलाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने व्यहोराको सिफारिस समेत प्रतिवेदनमा उल्लेख भएको छ ।

विगत ४/५ दिनदेखि परेको अविरल वर्षादका सँगै उक्त स्थानमा आएको पहिरोका कारण गाउँ उच्च जोखिममा परेपछि नेपाल प्रहरीसमेत सम्बद्ध स्थानीय तहका जनप्रतिनिधिको टोली भाद्र २३ गतेका दिन जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षणका लागि गएको थियो । स्थलगत निरीक्षण क्रममा निरन्तरको वर्षात्को कारण झरिरहेको पहिरोले केही घरहरुमा क्षति पुर्‍याइसकेको र गाउँभन्दा माथि पहिरो आइसकेकोले कुनै पनि बेला सो पहिरो झरी सिसिपु गाउँमा आउने सक्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने देखिएको अनुमान लगाएका थिए ।

जिल्ला सदरमुकाम विदुरबाट ७७ कि.मि.पूर्व उत्तर पर्ने उक्त स्थानमा पहिरो आई जोखिममा रहेको भन्ने खवर बिहान १०:०० बजेको समयमा प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटि गई बुझ्दा सो स्थानमा हाल ११४ घरधुरी रहेको, ती मध्ये ५५ घरपिरवार (प्रभावित जनसंख्या ३०० जना ) उच्च जोखिममा रहेको, ५९ घर परिवार (प्रभावित जनसंख्या ४०० महिला, २०० पुरुष २०० गरी ६००) जोखिममा रहेको देखिएको छ । प्रारम्भिक जानकारी अनुसार सो स्थानका आईतबिर तामाङको गाई र गाईको बाच्छो पहिरोमा पुरिएको अ.२० हजार ००० बरार क्षति भएको प्रजिअ ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्