नुवाकोटमा ‘बाँदर आतंक’ कम गर्न वनमै फलफूलका वृक्षारोपण



शक्तिमाया तामाङ

नुवाकोट,भदौ १६ । कृषकलाई खेतीपातीको बेलामा मल अभाव तथा लगाइसकेपछि सिँचाई र प्राकृतिक प्रकोपले बाली नास गर्ला भन्ने चिन्ता स्वभावैले हुन्छ । तर पछिल्ला केही वर्ष भने त्यसका अतिरिक्त बाँदर, बँदेल, दुम्सी लगायत वन्यजन्तुले बालीनाली नास गरिदिँदा अर्को पीडा थपिएको छ ।

राज्यको कानुनले वन्यजन्तु मार्न वा हानी गर्न बर्जित गरिएपछि किसानहरु घर भित्र्याउनै लागेका अन्नबाली सत्यनास गर्ने त्यस्ता वन्यजन्तु देखी ‘निरीह’ जस्तै बनिरहेका छन् । जुन पीडा वर्षौवर्षदेखि भोग्दै आएका कतिपय किसानहरुले खेती लाउनै छाडे भने खेती लगाएकाहरु वन्यजन्तु प्रतिकारका उपाय खोजीमा भौतारिरहे ।

यसपटक महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रले प्रारम्भिक परीक्षणका लागि उत्पादन गरेको ‘एयर गन’ समेत केही जिल्लामा बाँदर धपाउन प्रयोग गरिए । केन्द्रका अनुसार प्रतिगोटा २ हजार ५ सय रुपैयाँमा परीक्षणका लागि बिक्री गरिएको एयर गन देशका विभिन्न क्षेत्रमा करिब ५ सय वटा पठाइयो । उक्त गन नुवाकोटको पञ्‍चकन्या गाउँपालिका लगायतका भेगमा समेत पुगेको थियो । गन फायरिङ गर्दा ढेडु (सेतो बाँदर) तर्सिएर भागे । तर रातो बाँदर भने अटेरी बनेको स्थानीय किसान रामहरि भण्डारीले बताए ।

पञ्‍चकन्यामात्र होइन जिल्लाका वन निकटका खेतबारीमा बाँदरले हिउँद, बर्खा नै सताइरहन्छन् । बाँदरको संख्या बढेर बाली र गाउँमा बिगबिगी हुनु आहारा अभाव प्रमुख कारण ठान्दै नुवाकोटमा यसपटक भने वृद्धारोपण र फलफूल लगाउन थालिएको छ ।

जिल्ला वन कार्यालय नुवाकोटले पछिल्लो समय सामुदायिक र व्यक्तिगत रुपमा वृक्षारोपण गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । कृषकले लगाएको अन्नबालीमा बाँदरले बर्सेनि क्षति पुर्‍याउँदै आएकाले फलफूल लगाएर बाँदरलाई वनमै आहारा उपलब्ध भएमा अन्नबाली नष्ट गर्दैन भन्ने उद्देश्यले यसवर्षबाट विभिन्न जातको फलफूलको बिरुवा वितरण कार्य सुरू गरिएको हो ।

सामुदायिक वन र व्यक्तिगत वृक्षारोपण गर्नेक्रम बढेकाले नुवाकोटमा बिरुवाको माग र वितरणमा वृद्धि भएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा ३० हजार, २०७४/७५ मा १० हजार काठजन्य बोट बिरूवा र २०७५/७६ मा ९३ हजार विभिन्न जातका बोटबिरुवा र फलफूल वितरण भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

वनमा फलफूल लगाएर बाँदरलाई वनमा नै अल्मलाउने सरकारी नीतिअनुसार यस वर्षबाट विभिन्न जातको फलफूलको बिरुवा वितरण गरेकाले विगतको तुलनामा वृद्धि भएको डिभिजन वन कार्यालय नुवाकोटका सूचना अधिकारी लोकनाथ न्यौपानेले बताए । उनले काठ दाउरामा मात्र निहीत नभइकन सामुदायिक वनमा फलफूल रोपण कार्यक्रम गरेर विशेषगरी सामुदायिक वनमा फलफूल रोपेपछि वन्यजन्तु फलफूलमा अलमलिन्छ र कृषकको जग्गामा हानी नोक्सानी गर्दैन भन्ने मुख्यत: सरकारको उद्देश्य रहेकाले फलफूलको बिरुवा वितरण गरिएको बताए ।

खेतबारीमा लगाएका अन्नबाली, फलफूल वर्षेनि बाँदरले खाएर नष्ट पारेर दिक्क भइरहेका कृषकहरूलार्इ राज्यले यस्तो नीति ल्याउँदा आगामी दिनमा त्यस्तो समस्या बेहोर्नु नपर्ने हो कि भन्ने आशा पलाएको बताउँछन् । भैरवी सामुदायिक वन उपभोक्ता समितिका सचिव एवं कृषक यज्ञबहादुर केसीले वनमा फलफूल लगाइ बाँदर भगाउने कार्यक्रमलार्इ राज्यले निरन्तरता दिन आवश्यक रहेको बताए । उनले अलिअलि मात्र नभई कृषकलाई धेरै दु:ख दिएकाले वनमा उसले खान पाएको खण्डमा घर गाउँमा लगाइएको खेतीपातीलाई जोगाउन सजिलो हुने राय व्यक्त गरे ।

काठजन्य बोट विरूबासँगै यस वर्षबाट वनमा विभिन्न जातका फलफूलका बिरूवा लगाउने कार्यक्रम विस्तार गरेको वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक बद्री ढुंगानाले बताए । बहुवर्षे बिरूवा लगाउने तथा कृषिवन प्रणालीलार्इ प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप कृषिवन विकास कार्यक्रम निरन्तर भइरहने बताउँदै उनले यो अभियान देशैभरीको रहेको ७० प्रतिशत वनजन्य र बाँकी ३० प्रतिशत फलफूल समुदायलाई वितरण गर्ने कार्यक्रम रहेको बताए ।

पहिला पहिला सामूहिक रूपमा खाली चौरमा मात्रै बोट बिरूवा रोप्ने गरेकोमा अहिले काठजन्य र फलफूल व्यक्तिगत पनि रोप्न थालिएको जानकारहरु बताउँछन् । त्यसले पर्यावरणमा टेवा पुग्नुका साथै आर्थिक आम्दानी पनि हुन सक्ने उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्