काठमाडौंलाई मागी खानेहरुको सहरका रुपमा चिनाउने प्रयास नहोस्: मेयर शाक्य



काठमाडौं कात्तिक १९ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महामारीका कारण रोजगारी गुमेर खान नपाएका कसैले पनि भोकै बस्न नपर्ने बताएका छन् ।

उनले यदि कसैलाई त्यस्तो अफ्ठ्यारो परेको भए महानगरका नजिकका वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । मेयर शाक्यले कोरोना कहरका वेला सार्वजनिक स्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई व्यवस्थित गर्न र विकल्प खोज्न आग्रह गरेका छन् ।

टुँडिखेललगायत खुला ठाउँमा भइरहेको खाना वितरणमा महानगरले रोक लगाएको भन्दै आलोचना भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले भने, ‘हामी काठमाडौंलाई गरिखानेहरूको सहरका रूपमा चिनाउन चाहन्छौँ, मागिखानेहरूको होइन, सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको ख्याल नगरी जथाभावी खाना खुवाउने र उनीहरूकै कथाव्यथा बेच्ने कार्य उचित होइन ।’

महानगरवासीको स्वास्थ्यप्रति संवेदनशील रहेको भन्दै उनले कोभिड– १९ का कारण प्रभावित भएका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने नागरिकलाई महानगरपालिकाले सहयोग गर्ने बताए ।

‘हुनेखानेले मात्रै होइन, गरिबले पनि स्वस्थकर र पेटभरि खाना खान पाउनुपर्छ, यसमा महानगर दृढ छ, श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न,’ उनले भने ‘अहिले मुलुकमा लकडाउन छैन, यस्तो वेलामा हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुईछाक खाने र उनीहरूको चुलो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ ।’

मेयर शाक्यले काठमाडौंका पुरानो बसपार्कलगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धुलोधुँवा र भिडभाडबीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्डसमेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको गुनासो आएकै कारण त्यसलाई व्यवस्थित गर्न आग्रह गरेको बताए ।

‘समस्यामा परेका नागरिकलाई सहयोग गर्ने व्यक्ति र संघसंस्थाप्रति हामी आभारी छौँ, यसमा महानगर सहकार्य गर्न पनि तयार छ, तर व्यवस्थित गर्नु जरुरी देखिएको छ,’ उनले भने ।मेयर शाक्यले स्वास्थ्य मापदण्ड पूरा गरेर महानगर आफैँले पनि खाना वितरण गरेको भन्दै आवश्यकता परे महानगरले पनि सो कार्य निरन्तर गर्ने बताए ।

उनले महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको स्मरण गरे । सो अवधिमा मात्रै महानगरपालिकाले एक लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र दुई लाख ५० हजारभन्दा बढीलाई खाना खुवाउने कार्य गरेको उनले जानकारी दिएका छन् ।

महानगरले बेरोजगार भएकाहरूलाई उनीहरूको सामर्थ्य र सीपको आधारमा रोजगारी दिई जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको समेत थालनी गरेको उनले बताए । त्यसका लागि महानगरले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ जारी गरेको छ ।

सो कार्यक्रमअन्तर्गत जोडिएकाहरूलाई महानगरले वडा कार्यालयबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मतसम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरणजस्ता काममा लगाउने कार्यविधिमा उल्लेख छ । उनीहरूले हप्तामा दुई दिन रोजगारी पाउँछन् ।

मेयर शाक्यले काम गर्न नसक्ने असहायहरूलाई सडकजीवन बाँच्न नपरोस् भनेर महानगरको व्यवस्थापनमा तीन वर्षदेखि मानव सेवा आश्रमसँग सहकार्य गरेर खानपान, पालनपोषण र औषधोपचारको व्यवस्था मिलाएको बताए ।

प्रतिक्रिया दिनुहोस्