नुवाकोटको विकासको वर्तमान स्थिति र भावी योजना



पूर्वाधारतर्फ विकास
अहिले भन्‍ने हो भने गाउँमा सडक (ट्रयाक) नपुगेको ठाउँ कहीं पनि छैन । म निर्वाचित प्रदेश नुवाकोटको दुर्गम क्षेत्र हो, जहाँ घ्याङफेदीदेखि लिएर रसुवा र सिन्धुपाल्चोकको भूगोल जोडेको छ । यस प्रदेशको २३ वटा वडा (पहिलेका गाविस) लाई जोड्ने एउटा कडी भनेको शिवपुरीको गुर्जेभञ्ज्याङ, समुन्द्रदेवी, पुरानो गाविस भवन, महतटोल, रातमाटे, लिखुपुल, महाकाली कुखुरे, मानेभञ्ज्याङ, समुन्द्रटार, राउतबेंसी सडक हो । त्यसलाई हामीले बहुवर्षीय बाटोको रुपमा लिएका छौं । केही समयअघि नै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलज्यूले यो सडक शिलान्यास गरिसक्नु भएको छ । यो भन्दा अगाडि निर्वाचित धेरै नेताज्यूहरुले त्यसलाई ध्यान दिएको जस्तो मलाई लागेन । समुन्द्रटारको यतापट्टी चन्द्रावती खोला छ, त्यसमा रु. ५,३०,७६,५८४। लागतमा पक्की पुल निर्माण हुँदै छ । त्यसलाई टेण्डर भइसकेको छ भने यस वर्ष १ करोड ५० लाख रकम विनियोजन भएको छ । अब केही दिनपछि नै काम सुरु हुन्छ । त्यही बाटोलाई केन्द्रित गरी यो पुल बन्दैछ । यो सडकलाई हामीले प्रदेशको मुख्य सडक (प्रदेश लिंक रोड) बनाउने प्लानमा छौं । विस्तृत परियोजना रिपोर्ट (डीपीआर) भएर लिखु पुल नजिक लोकमार्ग जोड्ने ठाउँसम्म कालोपत्रे गर्ने काम सुरु भएको छ । यता शिवपुरी १ मा रु. २,८७,८६,५९८। लागतमा ज्यामिरे खोला पक्की पुल निर्माण हुँदैछ ।

यसैगरी केन्द्रीय सरकारले प्रादेशिक सडकको रुपमा छान्ने एउटा योजनाभित्र पार्नुपर्छ भनेर गुर्जेभञ्ज्याङ–सुनखानी– ढलानघर–भद्रुटार–शिवालय–कुण्डला–घलेभञ्ज्याङ–कुलकुले–आरुखर्क–ठकुरीटोल–भ्याङ्ले–समुन्द्रटार सडक सिफारिस गरेका छौं । यो बाटोको ढलान घर हुँदै घलेभञ्ज्याङ खण्डका लागि पहिलो वर्ष मैले १ करोड २७ लाख छुट्टाएकी थिएँ । दोस्रो वर्ष सांसद कोषको रकम ५० लाख रुपैयाँ पनि त्यहीं विनियोजन गरेँ । पारिपट्टीबाट घलेभन्ज्याङ, थप्रेकसम्मको काम पनि सँगसँगै भइरहेको छ । पहिलो वर्ष एक करोड र दोश्रो वर्ष ९० लाख प्रदेश सरकारबाट विनियोजन भएको थियो । यसै बाटोमा पर्ने लिखु खोलामा समुन्द्रदेवी र भद्रुटार जोड्ने शिवालय पुलको पनि डीपीआरको लागि बजेट विनियोजन भई प्रक्रिया अघि बढिसकेको छ । यसै सडकसँग जोड्ने गरी तादी र पञ्चकन्या गाउँपालिका जोड्ने तादी खोला पक्की पुल निर्माण सुरु भएको छ । प्रदेश सरकारको कूल लागत रु.९,१३,०४,३७५। मा बन्ने उक्त पुलको लागि यस वर्ष ४ करोड रुपैयाँ विनियोजन भएको छ ।

संघीय सांसदको पनि सिफारिसमा उक्त सडक केन्द्र सरकारलाई सिफारिस गरिएकाले छिट्टै स्वीकृत भएर आउँछ भन्‍ने मलाई आशा छ । यसरी हेर्दा एउटा सडक घलेभञ्ज्याङबाट र अर्को मानेभञ्ज्याङ्गबाट समानान्तर रुपमा दुप्चेश्वरको समुन्द्रटार र राउतबेंसी छिचोल्दा चौघडा हुँदै जाने ५०–६० किमि सडक झण्डै आधा ३० किमिमा छोटिने देखिन्छ । यो सडक निर्माण र कालोपत्रे भयो भने माथिल्लो वेल्ट (घ्याङफेदीसम्म) का जनताले सहज रुपमा शिक्षा, स्वास्थ्य, रोजगारीको हिसाबले पनि त्यो ठाउँमा बसेर राजधानीसँग पहुँच बढाउन सक्नेछन् । त्यो हिसाबले हामीले एउटै बाटोलाई मात्र छान्यौं ।

यता तादीको दुर्गम भूभाग उर्लेनी जाने बाटोमा पर्ने दोर्खु खोला पुल निर्माण प्रक्रियामा रहेको छ । त्यस्तै शिवपुरीको वडा नम्बर १ र २ जोड्ने लावालुङ पुल, शिवपुरीकै ३ नम्बर वडामा पर्ने कात्तिके खोला पुल र १ नम्बर वडामा पर्ने मिस्रीखोला पुल डीपीआरको प्रक्रियामा रहेको छ । शिवपुरी गाउँपालिकामा आठवटै वडालाई समेट्ने गरी कृषि रिङरोड निर्माण भइरहेको छ । लगभग ७० किलोमिटर लामो उक्त सडकका लागि यो वर्ष दुई करोड बजेट रहेको छ । गत वर्षबाट निरन्तरतामा रहेको यो सडक निर्माण केही वर्षभित्रै सम्पन्न गर्ने गरी लागिरहेका छौं । यसले सबै वडालाई सडक संजालमा जोड्नुका साथै त्यहाँ उत्पादित कृषि उपजलाई संकलन गरी राजधानी निकासी गर्न सहज बनाउने छ ।

यता काठमाडौंको सुन्दरीजलबाट नुवाकोट र सिन्धुपाल्चोक सिमाना भएर चिसापानी, पाटीभन्ज्याङ, गोल्फुभन्ज्याङ, कुटुमसाङ हुँदै गोसाइँकुण्ड जाने गरी ‘गोसाइँकुण्ड मार्ग’ निर्माणका लागि पहल गरेका छौं । हिमाली पर्यटकीय क्षेत्र हुँदै धार्मिक स्थल जोड्ने यस सडकबाट स्थानीय आवागमन सहजमात्र नभएर पर्यटन प्रवर्द्धनमा समेत ठूलो आधार तयार पार्ने हुँदा आर्थिक उपार्जनको दृष्टिले पनि ठूलो महत्व बोकेको छ । यसका लागि सुन्दरीजलदेखि चिसापानी खण्डको डीपीआर भई निर्माण प्रक्रियामा रहेको छ ।

अर्को महत्वपूर्ण आधार टोखा–छहरे सुरुङमार्गको पनि हाम्रै पालामा संभाव्यता अध्ययन भएको छ । यसलाई संघ सरकारले प्राथमिकतामा राखेको छ । छिट्टै डीपीआर भएर निर्माण हुने आशासहित हामी निरन्तर ताकेता पनि गरिरहेका छौं । यो अन्तर्राष्ट्रिय महत्व राख्ने राष्ट्रिय गौरवको आयोजना हो । यसले नुवाकोटलाई राजधानीसँग जोड्न मात्र नभई छिमेकी मुलुक चीनसँगको व्यापारिक करिडोरको हिसाबले पनि नुवाकोटको विकासका लागि ठूलो महत्व राख्ने छ । यसैगरी मध्यमहाडी लोकमार्ग पनि यसै क्षेत्र हुँदै जाने भएकोले सडक संजालमा अर्को नयाँ आयाम थपिएको छ ।

शिवपुरी गाउँपालिकाको मध्यभागबाट पूर्वपश्चिम जोड्ने यस सडकले प्रदेशका उत्तर–दक्षिण जोड्ने दुइटा प्रादेशिक सडकलाई बीचमा लिङ गराइदिने हुँदा आवगमनमा सबैलाई सबैतिर उत्तिकै सहज हुने छ । यस खण्डमा हाल सडक विस्तार, ग्राभेल र पुल निर्माण अन्तिम चरणमा पुगिसकेको छ । यी मुख्य बाटो हुन् भने अरु साना बाटोहरुलाई सांसद कोषबाट सम्बोधन गर्ने कोसिस गरेका छौं ।

आफूले समेट्न नसकेका कुराहरुमा स्थानीय जनप्रतिनिधिहरुसँग राखेर हामीले पार्टीको कोणबाट नहेरी सबैलाई समेट्ने हिसाबले समानुपातिक ढंगले जहाँ समस्या छ, त्यो ठाउँलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्न सुझाव सल्लाह दिइरहेका छौं । त्यो हिसाबले हेर्दा प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधि जिम्मेवार बन्ने र कर्मचारी साथीहरुले पनि आफ्नो ड्युउटी सही तरिकाले निभाउने हो भने परिणाम दिन्छ । तर प्राविधिक साथीहरुको अलि समस्या आएको छ । अनावश्यक रुपमा झन्झट गराउने समस्याहरु छन् । राम्रा कामका लागि स्थानीय जनता, ठेकेदार सबै इमान्दार बन्न जरुरी छ ।

कृषि
पूर्वाधारपछि हाम्रो प्राथमिकता कृषि हो । कृषिको सन्दर्भमा नुवाकोटमा हाल प्रधामन्त्री कृषि परियोजनाअन्तर्गत आलु र तरकारीको जोन कार्यक्रम संचालनमा रहेको छ । यसले निश्चित उत्पादनशील क्षेत्रलाई केन्द्रित गरी एकैबालीलाई प्राथमिकतामा राखी त्यसको यान्त्रिकीकरणसहित आधुनिक र व्यावसायिक रुपमा खेती गरी उत्पादकत्व बढाउन सहयोग गरको छ । लिखु, तादी र पञ्चकन्याका केही भूभाग आलु जोनमा समेटिएको छ भने ककनी, शिवपुरी, पञ्चकन्या र दुप्चेश्वरका भुगोल तरकारी जोनले समेटिएका छन् ।

प्रदेश सरकारले ‘एक प्रदेश निर्वाचन क्षेत्रमा एक नमुना कृषि फार्म’ कार्यक्रमका लागि रु. ५० लाख अनुदान दिएको छ । आधुनिक तरिकाबाट कृषि व्यवसाय गर्छु भन्नेका लागि यो सुवर्ण अवसर हो ।

ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङ अर्गानिक पदमार्ग क्षेत्रलाई पूर्ण रुपमा प्राङ्गारिक कृषि क्षेत्र बनाउने योजनासहित गत आर्थिक वर्षमा मेरै पहलमा ५ करोड बजेट विनियौजन भएको थियो । तर कार्यविधि निर्माणमा भएको ढिलाई र कोरोना महामारीकै कारण कार्यान्वयन हुन सकेन । यस पदमार्गले समेटिएका ठाउँहरु भनेको राजधानीबाट नजिकका पर्यटकीय गन्तव्य भएकाले यस क्षेत्रलाई प्राङ्गारिक कृषि–पर्यटन क्षेत्रको रुपमा विकास गर्न अति जरुरी छ । जसले मुलुककै अर्थतन्त्रका लागि योगदान गर्न सकिन्छ । त्यसो भएकोले यो कार्यक्रमलाई आगामी दिनमा निरन्तरताका लागि पहल गर्ने योजनामा छु ।

यसैगरी लिखु र पञ्चकन्याको केही भूगोल समेटेर गडखार र सिमरा आसपास ६ सय रोपनी जमिनमा सामूहिक खेती प्रवर्द्धन कार्यक्रम संचालन हुँदैछ । यसका लागि प्रदेश सरकारबाट यो वर्ष रु ७५ लाख विनियोजन भएको छ । त्यसलाई कुन स्वरुपमा संचालन गर्ने र प्रभावकारी बनाउने भनेर स्थानीय सरकार, प्रदेश र संघीय प्रतिनिधिबीच छलफल भएर प्रक्रिया अगाडि बढेको छ । पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ यस आयोजनाको प्रमुखको जिम्मेवारीमा रहेर कार्यहरु अगाडि बढिरहेको छ ।

मैले पोहोर साल गाउँपालिकाहरुमा मिनी कोल्डस्टोर चाहिन्छ भनेर बजेट व्यवस्था गरिदिएपछि शिवपुरी र तादीले मिनि कोल्डस्टोर बनाउन थालेको छ । ४ करोड लगानीमा तयार हुने मिनी कोल्डस्टोरका लागि गत वर्ष १/१ करोड बजेट विनियोजन भएको थियो भने यो आर्थिक वर्ष पनि निरन्तरतामा रहेको छ । यो वर्ष कोभिड १९ का कारण बाँकी गाउँपालिकामा त्यो गर्न सकेनौं । अहिलेचाहिँ प्राथमिकता स्वास्थ्यमै दिनुपर्छ भनेर मिनि कोल्डस्टोरको कार्यक्रम हामीले ल्याएनौं । अर्को आर्थिक वर्ष पहल गर्ने छु ।

माथिल्लो वेल्टमा हाम्रा बाउबाजेले हिजो उत्पादन गरेका अन्नहरुलाई संरक्षण गर्नका निम्ति छलफल चलाउँदै आएकी छु । रैथाने बालीहरुको संरक्षण कार्यक्रम नुवाकोटमा छैन । यसको पहल गर्ने सोंचमा छु । उदाहरणका लागि, मकैबारीभित्र हुने सिमी, माथिल्लो बेल्टमा हुने बर्खे आलु । जस्तै हामीले मुडेको आलु भन्छौं, त्यस्तै गरी घ्याङफेदीमा फल्ने आलुको महत्व हुन्छ । यसलाई काठमाडौंको बजारसम्म ल्याउने र ब्राण्डिङ गर्ने कुराको योजना बनाउनु जरुरी छ । त्यसपछि शिखरबेंसीमा फल्ने धान (समुन्द्रफिनी) । हिजो घर कहाँ भन्दा नुवाकोट । शिखरबेंसीको धान फल्ने ठाउँ हो ? भनेर सोध्ने गरिएको छ । त्यो इतिहासलाई मेटाउन दिनु हुन्न भन्‍ने हिसाबले पनि हामीले स्थानीय सरकारलाई सुझाव दिएका छौं । केही प्रयासहरु भएका छन् ।

प्रदेश सरकारको तर्फबाट त्यसलाई संरक्षण र प्रवर्द्धन गर्ने कार्यक्रमहरु ल्याएका छौं । सँगसँगै जिल्लामा थुप्रै खेर गइरहेका खुरपानीहरु छन् । चुत्रु, ऐंशेलु, काफल लगायत फललाई हामीले सदुपयोग गर्नुपर्छ भनेर पहिलोचोटी शिवपुरीबाट सुरुवात गरौं भनेँ । खुरपानी प्रशोधन गरेर के के बन्दा रहेछन् भनेर गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतसँग कुरा गरें । उहाँहरुलाई खुरपानीको पकेट क्षेत्रमा गएर अध्ययन गर्न भनेँ । र, पछि सम्भावना थुप्रो रहेछ भन्‍ने भएपछि म कृषिराज्यमन्त्री हुँदा खुरपानी प्रशोधन केन्द्रका लागि बजेट छुट्टयायौं । जसअनुरुप २५ लाखको उपकरणहरु किनिसकिएको तर चालु बजेट नभएकोले सञ्चालन गर्न मात्र बाँकी रहेको गाउँपालिकाले जनाएको छ । रकमको अभावले सञ्चालन गर्न नसकिएको हो भने कोभिड अन्त भइसकेपछि निरन्तरता दिने मैले सोचिरहेकी छु ।

ठाउँ विशेषलाई फोकस गरी खासखास ठाउँहरुमा खासखास बालीको ब्लकहरु संचालन गर्ने तयारीमा हामी छौं । जस्तै घ्याङफेदी, कुटुमसाङ एरियामा हिमाली आलु, तलाखु आसपासमा फापर, कतै कोदो, बर्खे सिमीजस्ता रैथाने बालीहरुको व्यावसायिक उत्पादनका लागि ब्लगहरु सञ्चालन गर्ने गरी तयारीमा गरिरहैका छौं ।

भनेपछि, हामीसँग यत्ति धेरै संभावनाहरु छन् । तर हामीले देखिरहेका छैनौं । कोदोकै कुरा गर्ने हो भने, हामी इन्डिया (भारत) बाट किनेर खाइरहेका छौं । हाम्रा बारीहरु बाँझो छ । हिजो गरिबले खाने भनेर चिनिएको कोदो अहिले सुगर, प्रेसरदेखि लिएर थुप्रै स्वास्थ्य समस्या हल गर्नका निम्ति कोदोको ढिँडो, खोले खानुपर्छ भनेर डाक्टरहरुले सुझाव दिइरहेका छन् । यो हिजो गरिबले खाने चीज त स्वास्थ्यका लागि फाइदा हुने कुरा पो रहेछ । यो हिसाबले कृषिमा लागेका मान्छेहरुलाई आत्मबल बढाउनका निम्ति कार्यक्रम बनाउन जरुरी छ भनेर हामीले प्रदेश कृषिमन्त्रीलाई पनि सुझाव दियौं र त्यही हिसाबले कार्यक्रम बनेको छ । तर अहिले कृषि अनुदान झोला झोलामा गयो, वास्तविक कृषकसमक्ष पुगेन भन्‍ने गुनासो बढेपछि हामीले दुई स्टेपमा कार्यक्रम सञ्चालन गर्ने भनेका छौं ।

विपन्न वर्गका किसानलाई केही गर्छु भन्यो भने बिना धितो ५ लाखसम्मको सहुलियत ब्याजमा ऋण दिन सहजीकरण गर्ने, जसका लागि बैंक निर्धारण गर्न कार्यविधि तयार भएको छ । त्यो भन्दा अलि ठूलो क्षेत्रफल र परिमाणमा गर्न खोज्ने कृषकहरुका निम्ति आफ्नै फार्महरु धितो राखेर सस्तो व्याजमा ऋण उपलब्ध गराउनका निम्ति कृषि मन्त्रालयबाट त्यो तयारी गरिरहेको छ । लगभग कार्यविधि बनिसक्यो होला । अर्थमन्त्रालयबाट स्वीकृत गर्नेबित्तिकै त्यो कार्यान्वयनमा जान्छ । कृषि क्षेत्रमा लागेकाहरुलाई यो सुवर्ण अवसर पनि हो । कृषि र पशुपंक्षी पालनसम्बन्धी अन्य कार्यक्रमहरु जिल्लास्थित ज्ञान केन्द्र र पशुसेवा केन्द्रबाट संचालन भइरहेका छन् ।

पर्यटन
दुर्घटनामा पर्नु भएका तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग संविधानसभा सदस्य भएको बेलामा मेरो चिनजान भएदेखि दाजु बहिनीको सम्बन्ध थियो । हामी ककनीबाट सूर्यचौरमा हाइकिङ गयौं । काठमाडौंबाट नजिक यत्ति राम्रा ठाउँहरु छन्, यसलाई चिनाउन केही न केही गर्नु पर्छ भनेर मैले भनिसकेपछि उहाँ (रविन्द्र अधिकारी)ले तपाईंले प्रदेशबाट छुट्याइएको रकमले डीपीआर गर्नुस् । त्यसपछि केन्द्रबाट राम्रै सम्बोधन गरौंला भन्नु भएको थियो । दुर्भाग्य भन्नुपर्छ, हेलिकप्टर दुर्घटनामा उहाँको निधन भयो । त्यसपछि अहिलेका पर्यटनमन्त्री योगेश भट्टराईज्यूसँग कुरा गरेकी थिएँ । उहाँले पनि म एकचोटी जाउँला भन्नु भएको थियो । तर समय मिलेन । कोरोना महामारीको कारणले गर्दा पनि जान सकैनौं । मेरै पहलमा पहिलो वर्ष कृषि मन्त्रालयबाट ५ करोड पैसा पर्यटन र कृषिलाई (एग्रो टुरिजम) लाई जोडेर लैजानु पर्छ भनेर छुट्याइयो । हाइकिङ गर्ने मान्छेहरुलाई सूर्यचौरसम्म लाने र सूर्यचौरबाट कुटुमसाङ जान चाहन्छ भने चिसापानी हुँदै कुटुमसाङसम्म लाने । हैन, काठमाडौं फर्कन्छ भने पनि ठीकै हुने । यसरी कार्यक्रमहरु बनाउने भनेर बजेट पारियो । बिडम्बना, यही कोभिडका कारण त्यो बजेट फ्रिज गयो । हामीले उपयोग गर्न सकेनौं ।

डीपीआर पनि यसरी गरेका थियौं कि ककनी र सूर्यचौरको बीचमा ‘लाली गुराँस’ पार्क बनाउने । मैले सुने कतिपय साथीहरुले साकुरा पार्क बनाउने भन्नु भएको छ । म आग्रह गर्न चाहन्छु, ‘आफैंसँग भएको चीजलाई वास्ता नगर्ने, अर्काको देशमा भएको चीजलाई देखासिखी नगरौं’। किनकि हामीसँग धेरै थरिका लालीगुराँस छन् । त्यो लालीगुराँस हेर्न जाऔं भन्‍ने बनाऔं न । लालीगुराँस हेर्न कहाँ जाने भन्दा नुवाकोट जाने । त्यसपछि रेडपाण्डा पार्क बनाउने । विश्वमै दुर्लभ वन्यजन्तु हामीसँग छ । जस्तो चाइनाले पाण्डा पार्कहरु बनाएका छन् । हामीले यो चीजलाई प्रचार गर्न जरुरी छ । यसलाई इकोनमी (अर्थोपार्जन) सँग पनि जोड्न सकिन्छ । रोजगारीमा पनि जोड्न सकिन्छ भनेर हामीले कार्यक्रम बनाएका थियौं । अहिले सोही पदमार्ग निर्माणका लागि पर्यटन विभागबाट साढे पाँच करोड बजेट विनियोजन भएर टेण्डर प्रक्रिया अगाडि गइसकेको छ । कोभिड पछाडि हामीले सोचेको कार्यक्रमलाई निरन्तरता दिने छौं । कम्तीमा पनि ५–६ करोड लगानी गरेर गुराँस पार्क र पाण्डा पार्क बनाउँदा हामीले विश्वको ध्यान खिच्ने एउटा नयाँ आधार प्राप्त गर्नेछौं ।

पर्यटकीय हिसाबले सूर्यचौरलाई विकास गर्नुपर्छ भनेर मैले अलि ध्यान दिएँ । त्यहाँ शान्ति स्तुपसहितको पार्क बनाउने, सँगै कोसेली घर बनाउने । त्यहाँ पर्यटकलाई आकर्षण गर्ने चिज के के हुन् त ? रक्सी भट्टी चलाएरमात्रै पर्यटकहरु आउँदैनन् । हामीसँग भएका स्थानीय उत्पादनहरु देखाउनु पर्छ । त्यहाँका तामाङले के चीज प्रयोग गर्छन् ? त्यहाँका गुरुङले, अरु समुदायका पनि हिजोका बाउबाजेले के के प्रयोग गर्छन्, त्यो चिजहरु देखाउने हो । पर्यटकहरुले सिमेन्ट प्लास्टर गरेको ठाउँहरु खोज्दैनन् । ढुंगा, माटोले बनेका संरचनाहरु हैर्न चाहन्छन् । आकर्षण के चिजले गर्छ ? अध्ययन गर्नुस् है भनेर मैले अलिकति पैसा छुट्याएकी थिएँ । अहिले त्यहाँबाट प्याराग्लाइडिङको पनि तयारी भइरहेको छ । परीक्षण उडान भइसकेको छ । पोखरापछिको राम्रो संभावना त्यहाँ देखिन्छ ।

नुवाकोटका लागि अलि समस्या भनेको राष्ट्रिय निकुञ्जसँग जुध्नु पर्ने छ । नीति हामीले बनाएका हौं । कार्यान्वयन गर्ने निकाय हो निकुञ्ज । कानुन संशोधन नगरी उनीहरुसँग झगडा गर्ने कुरा हुँदैन । यसमा सबै जनप्रतिनिधिहरुले ध्यान दिनुपर्छ । एउटा कर्मचारीले भनेर हुँदैन । विकल्प खोज्नु पर्छ भनेर गुरुङ गाउँ हुँदै घुमेर सूर्यचौर जाने बाटोका लागि मैले २० लाख रुपैयाँ छुट्याएकी छु । त्यो बाटो कालेपत्रे गर्ने योजना छ । बसपार्कका निम्ति जग्गा उपलब्ध गराउने हो भने बसपार्क बनाउन बजेट छुट्याउँछु भनेर त्यहाँका गाउँपालिका र वडाध्यक्षलाई पनि भनिरहेकी छु । त्यो पर्यटकीय क्षेत्र विकास भयो भने वरिपरिका जनताले रोजगारी पनि पाउने छन् । हामीले लाउने पुरानो कपडा प्रदर्शन गरेर डलर साट्न सक्छौं । यस्तो कुरामा ध्यान दिन र मैलै अगाडि सारेको योजनामा सपोर्ट गर्नका लागि स्थानीय सरकारलाई आग्रह गर्न चाहन्छु ।

ककनीलाई प्रदेश सरकारले हिल स्टेशनको रुपमा विकास गर्ने योजना अघि सारेको छ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधारहरु पार्क, भ्यू टावर, होटल लगायत आधार निर्माण गर्न डीपीआर तयार पारेर प्रक्रिया अगाडि बढेको छ । पञ्चकन्याको घ्याङस्वाँरा पर्यटन पार्क निर्माण प्रक्रियामा रहेको छ भने तादीकौ बागमारामा सहिद पार्क साथै शिवपुरीको चिसापानीमा चिया बगानसहितको पार्क बनाउने तयारीमा हामी लागि रहेका छौं ।

नुवाकोट तामाङ समुदायको बाहुल्य भएको जिल्ला हो । वाग्मतीमा प्रतिशतको हिसाबले रसुवामा सबैभन्दा बढी, दोस्रोमा मकवानपुर र तेस्रोमा नुवाकोट तामाङ बाहुल्यता रहेको छ । विभिन्न जातजाति, धर्म संस्कृतिले हामी धनी छौं । त्यसलाई सीमित घेरामा वा संकीर्ण घेराभित्र राख्न सक्दैन । त्यसलाई विकाससँग जोड्न सक्नुपर्छ । बजारीकरण गर्न जरुरी छ । संरक्षणको नाममा लुकाएर राख्ने होइन । प्रदर्शन गर्नुपर्छ । त्यसका लागि प्रदेश सरकारबाट शिवपुरी गाउँपालिकामा पर्ने सुनखानीमा तामाङ संग्रहालय भवन निर्माण हुँदैछ । डीपीआर भइसकेको छ । गत वर्ष कोभिडका कारण काम गर्न सकेनौं । यस वर्ष ४० लाख रुपैयाँ छुट्याइएको छ । कोरोनाकै कारण धेरै रकम छुट्याउन सकिनँ । कोभिड अन्त्य भइसकेपछि बहुवर्षीय योजनामा पार्ने सोच छ ।

ठूलो घर बनाउने होइन हाम्रो तामाङ समुदायको घर कस्तो हुन्छ ? नेवार समुदायको घर कस्तो हुन्छ ? गुरुङ समुदायको घर कस्तो हुन्छ ? अरु स्थानीयको घर कस्तो हुन्छ ? जे छ त्यस्तै खालको हामीले देखाउने हो । यहाँ बसेका जातिहरुको इतिहास अध्ययन गर्न आउने हो । त्यो खालको वातावरण हामीले बनाउनुपर्छ । त्यसो गर्न सक्यो भने शिवपुरी रेन्जको समेत विकास हुन्छ । हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ त्यो योजना अगाडि बढाएका छौं । त्यहाँ योगा, मेडिटेसनदेखि प्रत्यक्ष प्रदर्शनी (लाइभ म्युजियम) सम्म विकास गर्न सकिने छ । यो सबैका लागि हो । राधिका तामाङका लागि वा एक्लैले हुने होइन । कुनै जातिको मात्रै पनि होइन । दिलैदेखि सहयोग गर्न सबैलाई आग्रह गर्न चाहन्छु ।

घ्याङफेदी एउटा चर्चाको केन्द्र हो । यसलाई नकारात्मक दृष्टिले मात्र हैर्न हुँदैन । त्यहाँ संभावनाको पनि खानी छ । अब त्यहाँको संभावनाहरुलाई उजागर गरेर घ्याङफेदीको पहिचान बदल्नु पर्ने छ । कृषि–पर्यटनको संभावना प्रशस्त रहेको यस ठाउँमा होम स्टेको विकास गर्न सकिन्छ । यो गोसाइँकुण्ड जाने एउटा रुट पनि हो । यहाँबाट केबलकारको संभावना र चर्चा पनि भइरहेको छ । धेरै प्रयास पछि बल्ल सडक पुर्‍याउन सफल भएको छ ।

धार्मिक पर्यटकीय हिसाबले पनि नुवाकोट प्रशस्त सम्भावना बोकेको हुनाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि पनि योजनासहित हामी अगाडि बढेका छौं । समुन्द्रटारमा रहेको दुप्चेश्वर मन्दिर प्रशिद्ध तिर्थस्थल हौ । यहाँ भारतदेखि तिर्थालुहरु आउने गर्दछ । यसलाई अझ व्यवस्थित र व्यापक बनाउने हामीले सोचिरहेका छौं । कतिपय धार्मिक पर्यटकहरुलाई थानापतीमा रहेको मन्दिर, पञ्चकन्या र शिवपुरीमा रहेको त्रिवेणीधामसम्म पुर्‍याउन त्यस्ता ठाउँहरुलाई विकास गर्न जरुरी छ ।

शिक्षा
प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि बढेको छ । विशेषगरी विद्यालयका छात्राहरुलाई र समग्रमा सबैलाई पढ्न गएको बैला स्वास्थ्य समस्या नपरोस् भनेर ‘एक विद्यालय एक नर्स’ कार्यक्रम ल्याएको हो । सबैतिर सडक सञ्जाल पुर्‍याइसकेपश्चात् हिजोको जस्तो स्थिति रहँदैन । त्यसकारण सडकलाई व्यवस्थित गरायौं भने सरकारी विद्यालयमा पनि बस चढेर जान सक्छौं भन्‍ने सन्देश दिनका निम्ति पनि हामीले एक विद्यालय एक बस कार्यक्रम सञ्चालन गरेका छौं । एकैचोटी सबै विद्यालयमा त पुगेको छैन । तर एक दुई विद्यालय गरेर संख्या बढाउँदै गएका छौं । एक विद्यालय एक नर्स कार्यक्रम पहिलो वर्ष समुन्द्रदेवीमा परेको थियो । यो वर्ष जनज्ञान र तलाखुमा छ । अर्को वर्षहरुमा पनि यस्ता कार्यक्रम क्रमशः अन्य विद्यालयमा पनि सञ्चालन गर्नेछ । एक विद्यालय एक बस कार्यक्रम मेरो प्रदेशमा परेको छैन । कोभिडको कारण त्यो कार्यक्रम रोकेको छ । हामीले कोभिडलाई सहज तरिकाबाट जित्न सक्यौं भने अर्को वर्षबाट एक विद्यालय एक बस कार्यक्रम पनि निरन्तरता हुनेछ । त्यो वर्ष मेरो प्रदेश छुटिने छैन भन्‍ने म विश्वास दिलाउन चाहन्छु ।

पोष्टबहादुर बोगटी बहु प्राविधिक शिक्षालयको स्थापनासँगै नुवाकोटमा प्राविधिक शिक्षाको नयाँ आधार खडा भएको छ । सीटीईभीटीको आंगिक कलेजको रुपमा रहेको यस शिक्षालयबाट शुलभ शुल्कमा कृषि, पशुपंक्षी, होटल मेनेजमेन्ट र सिभिल इन्जिनियरिङ विषय अध्ययनको अवसर प्राप्त भएको छ । त्रिशूली अस्पतालसँग समन्वय गरेर नर्सिङ कलेज संचालन गर्ने विषयमा पनि हामीले छलफल गरिरहेका छौं । यस्तैगरी कृषि उत्पादनलाई बढाउन दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राखी कृषिको आंगिक कलेज संचालन गर्ने विषयमा पनि मैले परामर्श गरिरहेकी छु ।

मेरो प्रदेशमा पर्ने सामूदायिक कलेजहरुको स्तरोन्नतीका लागि पनि जोड दिइरहेका छौं । शिवपुरी ४ स्थित स्याउरेभूमे उमाविमा पशु विज्ञान (भेटनरी) अध्ययनका लागि मैले संसद कोषबाट रु. ५० लाख बजेट व्यवस्था गरी कार्यक्रम संचालन भएको छ । विभिन्न विद्यालयहरुमा बजेटको व्यवस्था गरी कम्प्युटर ल्याबहरु संचालन हुने तयारीमा छन् ।

खेलकुद
प्रदेश सरकारले ‘एक प्रदेश एउटा रंगशाला’ कार्यक्रम ल्याएको छ । त्यो अन्तर्गत नुवाकोटको शिवपुरीमा प्रदेशस्तरीय ‘सहिद स्मृति रंगशाला’ बनाइराखेको छ । शिवपुरी गाउँपालिकाको सुनखानीमा ठूलो चउर छ, त्यसलाई घ्याम्पेश्वरी भन्छ । त्यत्तिको ठूलो चउर अन्त नपाउने भएकोले हामीले त्यो ठाउँलाई छान्यौं । त्यो ५ करोडको आयोजना हो । सुरु वर्षदेखि यो वर्ष पनि रकम निरन्तर छ । अब जति काम बाँकी छ, त्यो पनि प्रदेश सरकारले पूरा गर्ने तयारी गरेको छ । यसले खेल क्षेत्रमा आस्था राख्ने समग्र युवा साथीहरुलाई आकर्षण गर्छ । काठमाडौं नजिक, टोखा–छहरे सुरुङमार्गसँग जोडिएको हुँदा कतिपय मध्यमस्तरका प्रतियोगिताहरु त्यो रंगशालामा गर्न सकिन्छ । त्यस्तै जिल्लास्तरीय रंगशाला पनि निर्माण हुँदैछ । जसका लागि यो वर्ष तीन करोड बजेट छुट्टिएको छ । ५० करोडभन्दा माथिको डीपीआर रहेको जानकारीमा रहेको छ । यसैगरी विदुरमा सुविधासम्पन्न कभड हल पनि निर्माण हुँदैछ । यसका लागि पनि यो वर्ष तीन करोड बजेट छुट्टिएको छ ।

स्वास्थ्य
जिल्लामा भएका अस्पतालहरुलाई अपग्रेड गर्ने काम अघि बढेको छ । जस्तै त्रिशूली अस्पताललाई हामीले ५० शय्यामा अपग्रेड गरेर सुविधासम्पन्न बनायौं । प्रसूति, बालरोग, जनरल सर्जरी लगायत छ थरीका विशेषज्ञ सेवा संचालनमा रहेको छ । आइसीयूको स्थापनासँगै हामीले पहल गरेर डाक्टरहरुको व्यवस्थापछि अस्प्रेसन समेत सुरुआत भइसकेको छ । अब कतिपय अप्रेसनका लागि काठमाडौं धाउनु पर्दैन । पीसीआर चेक गर्नका लागि काठमाडौं जानु परेन । त्रिशूली अस्पतालले नुवाकोटमात्र नभई रसुवा र धादिङलाई पनि सैवा पुर्‍याउँछ । यसलाई बढाएर सय शय्या बनाउन र विशेषज्ञ सेवा बढाउन प्रदेश सरकारबाट बजेट विनियौजन भएको छ ।

अर्को कुरा खरानीटारको अस्पताललाई हामीले प्रदेशस्तरको बनाउनुपर्छ भनेर पहल गरिरहेका छौं । अहिले १५ शय्याको छ, जुन गाउँपालिकाको मातहत हुन्छ । यसलाई प्रदेशस्तरमा ल्याउनका लागि २५ शय्या बनाउनुपर्छ भनेर लागिरहेका छौं । त्यसको तयारीस्वरुप मन्त्रीज्यू नै आएर हेरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्