उखु किसानद्वारा माइतीघरमा प्रदर्शन



काठमाडौ, मंसिर २८ । चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि आइतबार सर्लाहीका किसानहरु काठमाडौं आएर आन्दोलन शुरु गरेका छन। आन्दोलनको पहिलो चरणमा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले पैसा दिलाउने पहलकदमी नअपनाए कडा रुपमा आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

यसपटक किसानको पुरै पैसा नपाउँदा सम्म आन्दोलन नरोकिने उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । संरक्षक मिश्रले तिहार अगाडि उद्योग मन्त्री लेखराज भट्टलाई भेट गरी स्मरण पत्र बुझाएर छठ पर्व सम्म भुक्तानी दिलाइदिन माग गरेपनि पैसा नआएकाले आफूहरु काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएको बताए । मन्त्रालयले उद्योगीहरुको सम्पर्कमा छौं भन्ने तर किसानलाई रकम भुक्तानी गराउन नसक्ने भएकाले सरकार र उद्योगी बिच मिलेमतो भएको हुन सक्ने आशंका पनि किसानहरुको छ ।

यसअघि किसानहरु कात्तिक २३ गते मिल सञ्चालकबाट उखुको रकम भुक्तानी गराउन माग गर्दै काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्