तामाङ जातिको अलिखित इतिहासलाई साहित्यमार्फत उजागर गर्नुपर्छ : उपसभामुख तामाङ



काठमाडौं पुस १ ।

वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले तामाङ जातिको अलिखित इतिहासलाई साहित्यमार्फत उजागर गर्नु पर्ने बताएकी छन् ।

तामाङहरुको साहित्यिक संस्था तामाङ डाजाङको भर्चुअल बहस कार्यक्रममा उपसभामुख तामाङले उक्त धारणा राखेकी हुन् । विगतमा तामाङ जातिको पनि राज्य भएको तर हिन्दु राज्य विस्तारको क्रममा कपटपूर्ण ढंगले पराजित गरी जित्नेको इतिहास लेखेको तर हार्नेको नामेट गरेको प्रसंग सम्झाउँदै उनले भनिन्, उर्गेनको घोडा उपन्यासले इतिहासलाई लिपिबद्ध गरेको छ ।

राजनीतिज्ञ समेत रहेका विश्‍वभक्त दुलाल आहुतिले लेखेको दलन चलचित्रले नेपाली समाजमा दलितमाथि हुने विभेद र इतिहासको मार्मिक चित्रणबाट सबैको विश्वास जितेको उलेलेख गर्दै उपसभामुख तामाङले उर्गेनको घोडाजस्ता कृतिमा आधारित रहेर पनि चलचित्र बन्नुपर्ने धारणा राखिन् ।

भाषा, साहित्यको महत्व र दायरा बढ्दै गएको भन्दै उनले पुरानो ढर्राबाट माथि उठेर डिजिटल प्रविधिको प्रयोगमा ध्यान दिन तामाङ स्रष्टाहरुलाई आग्रह गरिन् । साथै डाजाङको अन्तर्क्रियाले तामाङ भाषा साहित्यको विकासमा नयाँ बहस प्रारम्भ गरेको भन्दै उनको आयोजकलाई धन्यवाद दिइन् ।

अन्तर्क्रियामा तामाङ भाषा साहित्यको विकासमा तामाङ डाजाङको भूमिका र आगामी योजनाु बारे भाषाविद् अमृत योञ्जन तामाङले कार्यपत्र प्रस्तुत गरेका थिए भने लेखक, साहित्यकार तथा पत्रकार फुलमान बल र कवि मोक्तान थेबाले टिप्पणी राखेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका मातृ भाषा साहित्य विभाग प्रमुख लक्ष्मी माली, भाषा आयोगका मातृभाषा प्रमुख डा लोकबहादुर लोप्चन, बुद्ध योन्जनलगायतले आफ्‍ना विचार राखेका थिए ।

वक्ताहरुले भाषा साहित्य विकासका लागि लिपिमा एकरुपता ल्याउनु पर्ने, स्थानीय तहसम्म डाजाङको शाखा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । मंसिर २७ र २८ दुई दिन भएको कार्यक्रमको पहिलो दिन साहित्यिक प्रस्तुति र दोस्रो दिन अन्तर्क्रियाको सेसन थियो ।

कार्यक्रममा पूर्वराजदूत गणेश योन्जन, गायक तथा संगीतकार प्रदीप बम्जन, सरकारका पूर्वसचिव धनबहादुर तामाङ लगायत स्रष्टाहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्