नेपाल-चीन व्यापार २५ अर्बले घट्यो



काठमाडौं, पुस ९। नेपाल–चीन व्यापारमा कमी आएको छ । विगत ६ वर्षसम्म बढ्दै गएको नेपाल चीन व्यापार आर्थिक वर्ष २०७७/७८ मा भने ओरालो लागेको देखिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महीनामा नेपाल–चीन व्यापार रू २५ अर्बले घटेको छ । विभागका अनुसार यस अवधिमा द्विदेशीय व्यापार रू ७७ अर्ब ८४ करोडको भएको छ । जबकि अघिल्लो वर्षको यही अवधिमा रू। १ खर्ब ३ अर्बको व्यापार भएको थियो ।

यस अवधिमा आयात रू २४ अर्बले घटेर ७७ अर्ब ४४ करोडमा सीमित भएको छ भने निर्यात रू ८६ करोडबाट घटेर ३८ करोडमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको प्रतिवेदनले चीनतर्फ हुने निर्यात ५९ दशमलव २ प्रतिशतले घटेको देखाएको छ । उसका अनुसार चीनबाट हुने आयात भने २५ प्रतिशतले घटेको छ ।

सरकारले निर्यात प्रवर्द्धन गरी आयात नियन्त्रण गर्ने रणनीति लिएको छ । तर, आयात घट्नुमा सरकारको रणनीति नभई चीनले उत्तरी नाकामा लगाएको बन्दको प्रभाव रहको देखिन्छ । 

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्