दाहाल-नेपाल सडक संघर्षमा ओली पक्ष प्रतिकारमा



काठमाडौं,पुष १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले दाहाल–नेपाल समूहका गतिविधिको राजनीतिक रूपमा प्रतिकार गर्ने भएको छ। विभाजनको कानुनी र राजनीतिक प्रक्रियामा लागेका दुवै समूह आफूलाई आधिकारिक नेकपा दाबी गर्दै एकअर्काको प्रतिकारमा उत्रिने भएका हुन्।

पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ भने केपी ओली समूह देशव्यापी कार्यकर्ता भेलामा लागेको छ। ओली पक्षले सातवटै प्रदेशमा इन्चार्ज तोकिसकेको छ। ओली पक्षले प्रदेशस्तरीय भेला गरी प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको अवस्था आउनुको कारण प्रस्ट पार्दै नेता–कार्यकर्तालाई निर्वाचनमा होमिन निर्देशन दिने भएको छ।

दाहाल–नेपाल पक्षले केन्द्रीय कमिटी बैठकबाट प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन कमिटीको कमान्डर तोकेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुनःस्थापनाको माग राखेर दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापना माग राखेर दायर रिटमा शुक्रबार हुने सुनुवाइमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा जाने कार्यक्रमसमेत तय गरेको छ।

दाहाल–नेपाल समूहले शुक्रबार बिहान साढे ९ बजे माइतीघर मण्डलमा र मध्याह्न १२ बजे निर्वाचन आयोगमा पार्टीका केन्द्रीय सदस्य र सांसदको उपस्थितिमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। ११ गते प्रदेश कार्यालयको संयोजनमा छलफल र एक साताभित्र प्रदेश कमिटीका बैठक गर्ने, १२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने, भेलामा प्रतिनिधिसभा विघटनविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा सुझाव संकलन गरिनेछ। त्यसैगरी १४ गते राजधानी र जिल्लाजिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने, सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला गर्ने, २० गते सबै नगरपालिका र गाउँपालिकासम्म पार्टी बैठक र भेला गर्ने र पुस २५ गते सबै वडामा बैठक र भेला गर्ने दाहाल–नेपाल समूहले जनाएको छ।

केन्द्रीय कमिटी बैठकले संगठनात्मक र राजनीतिक कार्ययोजनामाथि छलफल गर्दै १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय लिएको जानकारी एक सदस्यले दिए। ‘शुक्रबार केन्द्रीय कमिटीका सबै सदस्य निर्वाचन आयोग र सर्वोच्च अदालत जाने कार्यक्रम तय भएको छ। त्यसलगत्तै सबैलाई आ–आफ्नो कार्यक्षेत्रमा गएर प्रतिनिधिसभा विघटनविरुद्ध कार्यकर्ता र जनतालाई बताउने र पुस १४ का देशव्यापी विशाल प्रदर्शन गर्ने निर्णय भएको छ,’ ती केन्द्रीय सदस्यले भने। दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी आन्दोलन गरिने बताए।

केन्द्रीय कमिटीको बिहीबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पहिलो चरणको आन्दोलनका कार्यक्रम सरकारलाई चेतावनी मात्रै दिन तय गरिएकाले केही नरम हुने र आवश्यक परे अर्को चरणमा कडा कार्यक्रम ल्याइने बताए। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी वैशाखमा निर्वाचन मिति घोषणा गरेपछि नेकपा औपचारिक रूपमै दुई कित्तामा विभाजित भएको हो। दुवै पक्षले एकअर्कालाई दोष थोपर्दै नेता–कार्यकर्ता भेला गरिरहेका छन्। दुवैले आफूलाई आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन्। दाहाल–नेपाल समूहका सांसदले प्रतिनिधिसभा पुनःस्थापना माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।

दाहालसहित चार नेता बल्खुमा 

केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्ष दाहाल–नेपाललगायत नेताहरू बल्खुस्थित मदन नगर पुगेर मदन भण्डारीको सालिकमा माल्यार्पण गरे। दाहाल, नेपाल, झलनाथ खनाल, अमृतकुमार बोहरालगायत बल्खु पुगेका थिए। दाहालले कम्युनिस्ट एकताको ऐतिहासिक आवश्यकताबारे केन्द्रीय समिति बैठकले प्रस्ताव पारित गरेको सन्दर्भमा भण्डारीको सालिकमा माल्यार्पण गरी सच्चा कम्युनिस्टको एकता आवश्यक छ भन्ने सन्देश देशभर सञ्चार गर्न आफूहरू बल्खु आएको बताए। ‘पोहोर साल मेरै अध्यक्षतामा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले यो ठाउँमा आधुनिक र सबैखाले कम्युनिस्टको भाव झल्कने खालको कार्यालय बनाउने निर्णय गरेको थियो,’ दाहालले भने। मदननगरमा तत्कालीन एमालेको केन्द्रीय कार्यालय थियो। २०७२ को भूकम्पले भवनमा क्षति पुर्‍याएपछि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही सारिएको हो।

दाहालको कार्यकारी अधिकार खोसियो

ओली समूहले दाहाललाई कार्यकारी अध्यक्षबाट हटाएको छ। बिहीबार बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले पार्टी एकताविरोधी गतिविधि गरेको आरोप लगाउँदै दाहाललाई कार्यकारी पदबाट हटाएर कारबाही गरेको हो। तर उनको अध्यक्ष पद भने यथावत् राखिएको छ। पार्टी एकताका बाँकी काम टुंगो लगाउने जिम्मेवारी पाए पनि दाहालले ‘काममा ध्यान नदिएका’ ले कारबाही गरिएको जनाइएको छ। दाहाल–नेपाल पक्षले भने ओलीलाई यसअघि नै अनुशासनको कारबाही भन्दै अध्यक्षबाट हटाइसकेको छ। बैठकमा दाहाललाई कार्यकारी अध्यक्षबाट हटाउने प्रस्ताव महासचिव विष्णु पौडेलले राखेका थिए। बैठकले पार्टी एकता विरोधी समूहको राजनीतिक रूपमा प्रतिकार गर्ने निर्णय पनि गरेको छ।

दाहाल–नेपाल अवसरवादी : थापा

गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट एउटा गुट अलग भएको बताएका छन्। बिहीबार ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा सहभागी थापाले यस्तो बताएका हुन्। ‘पुष्पकमल दाहाल र माधवकुमार नेपाल फुटवादी, अवसरवादी र प्रतिगमनकारी हुन्,’ थापाले भने। उनले दाहाल–नेपाल पक्षलाई चुनावबाट पनि परास्त गर्नुपर्ने बताए।  ‘हामीले प्रतिगमनकारी र अवसरवादीलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्नेछौं,’ उनले भने। ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ,’ थापाले भने, ‘उहाँहरू दुस्मनको जालमा पर्नुभएको छ।’ ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा पूर्वमाओवादी खेमाका नेता हरिबोल गजुरेल पनि सहभागी भए।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्