भारतमा देखियो बर्ड फ्लू, नाकामा कडाइ



काठमाडौं,पुष २३ । करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्ड फ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ ।

नेपालमा बर्ड फ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत तयारी थालेको बताइएको छ । पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार बिहीवार विभागले नेपालमा बर्ड फ्लू भित्रिन नदिने उपाय अवलम्बन गर्न छलफल थाल्ने भएको छ । भारतको उत्तरी राज्य हिमाचल प्रदेशदेखि केरला, इन्दोर, हरियाणालगायत क्षेत्रमा समेत बर्ड प्mलूको ठूलो असर देखिएपछि त्यहाँको संघीय सरकारले संक्रमणलाई थप फैलिन नदिन उच्च सर्तकता अपनाउनुका साथै अल्पकालीन उपायहरू समेत अवलम्बन गर्न थालेको खबरहरू सार्वजनिक भएका छन् ।

बीबीसीका अनुसार बर्ड फ्लू देखिएपछि भारतमा हजारौं पक्षी मारिँदै छन् । त्यसैगरी केही जिल्लामा पक्षी विक्री गर्ने पसलहरू बन्द गरिनुका साथै अण्डा विक्रीमा समेत रोक लगाइएको छ । बीबीसी हिन्दीसेवाले उल्लेख गरेअनुसार उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मंगोलियाबाट बसाइँसराइ गर्दै आएका करीब २ हजार ४ सय खोया हाँसहरू मरेका छन् । यसका साथै केरला राज्यमा समेत १२ हजार हाँसहरू मरेपछि राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार पक्षी मारिएको छ ।

नेपालमा पहिलोपटक सन् २००९ मा वर्ड फ्लू देखिएको थियो भने सबैभन्दा ठूलो क्षति सन् २०१३ मा पुर्‍याएको थियो । त्यसबखत काठमाडौं, चितवन, धादिङ, झापादेखि कैलालीसम्म गरी नेपालका २ सय १ ओटा ब्रोइलर र लेर्यस कुखुराका फार्महरूमा यसको संक्रमण फैलिएको थियो ।

नेपालमा त्यति सजिलै यसको संक्रमण फैलिन नसक्ने दाबी मन्त्रालयले गरेको छ । यद्यपि भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा भने ओसारपसार कायम हुने सम्भावना नै रहेको छ । भारतमा फ्लू देखिएपछि उताको कुखुराको मूल्य सस्तो हुने हुँदा सीमा बजारका व्यापारीहरूले खुला सिमानाको फाइदा उठाउँदै कखुरा ओसारपसार गर्ने भएकाले संक्रमण फैलिने सम्भावना भने कायमै छ ।

कुखुराको मासुको मूल्य ५४ प्रतिशतले बढ्यो

बन्दाबन्दीपश्चात् ब्रोइलर कुखुराको मासुको मूल्य ५४ प्रतिशतले बढेको छ । बन्दाबन्दी खुलेसँगै होटेल, रेस्टुराँ, पार्ट प्यालेसलगायत क्षेत्र खुल्न थालेपछि उपभोग बढेका कारण मासुको मूल्य बढेको हो ।

मासु व्यवसायी संघअनुसार यसअघि भदौ तेस्रो सातासम्म कुखुराको मासुको मूल्य प्रतिकिलो २ सय ४० रुपैयाँ थियो । त्यस यता सामान्य अवस्थामा वृद्धि भएको मासुको मूल्य विगत १ सातादेखि ३ सय ७० रुपैयाँ प्रतिकिलो पुगेको थियो ।

बन्दाबन्दीको समयमा कुखुराको मासुको खपत घटेर करीब ३० प्रतिशतमा झरेको थियो । अहिले सबै क्षेत्र खुला भएसँगै उपभोग पनि बढेर ६० प्रतिशत पुगेको छ मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले जानकारी दिए ।

जाडो महीनामा किसानहरूले कुखुराको उत्पादन कम गर्ने भएकाले त्यसको असर मूल्यमा परेको पनि उनले बताए । किसानले उत्पादन कम गर्न थालेपछि नेपाल ह्याचरी उद्योग संघले समेत चल्लाको उत्पादन घटाएको छ । सामान्य अवस्थामा ह्याचरी उद्योगले सातामा ४२ लाख चल्ला उत्पादन गर्ने गर्दथ्यो । तर, हाल सातामा ३२ लाख मात्रै नयाँ चल्ला उत्पादन भइरहेको ह्याचरी उद्योग संघले बताएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकीमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्