प्रदेशसभा बैठक माग गर्दै वाग्मती प्रदेशसभामा दाहाल–नेपाल पक्षको नाराबाजी
हेटौंडा,माघ १९ । आज दिउँसो २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ।स्थगित भएसँगै नेकपा दाहाल-नेपाल समूहका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।‘विशेष कारण’ देखाउँदै बैठक स्थगित गरेपछि सोमबार उक्त समूहका सांसदहरुले ‘प्रदेशसभा रोक्न पाइँदैन, अल्पमतको सरकार चाहिँदैन’ भन्दै नाराबाजी गरेका हुन् ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दलको अर्को समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी बैठक बोलाइएको थियो । तर अचानक आइतबार राति बैठक स्थगित भएको सूचना प्रदेशसभामा टाँसिएको थियो ।
यसअघि पुस १० गते प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव माघ ९ गतेको बैठकमा टेबुल गरिएको थियो । अविश्वास प्रस्तावका विषयमा मतविभाजनका लागि कार्यविधि निर्माण गर्न कार्यदल गठन गरिइसकिएको छ । उक्त कार्यदलले प्रतिवेदन नबुझाएका कारण बैठक स्थगित गरिएको स्पष्टीकरण सचिवालयले दिएको छ ।

