अब वेबसाइटबाटै माटो परीक्षण



काठमाडौं,फागुन १३ । अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अबका दिनमा नेपाली किसानले आफ्नो जमीनको गुणस्तर थाहा पाउन माटो परीक्षणका लागि प्रयोगशालामा गइरहनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । दक्षिण एशियामै नेपालले पहिलोपटक माटोको डजिटल नक्सा तयार पारेको छ,’ उहाँले भन्नुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एन्ड फर्टिलाइजर परियोजनाको सहयोगमा मटोको डिजिटल नक्सांकन गरिएको हो । माटोको उर्वराशक्ति, अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा, माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणका बारेमा कृषकलाई सजिलै जानकारी दिने उद्देश्यले यो नक्सा तयार गरिएको हो । विगत ४ वर्षदेखि शुरू भएको डिजिटल नक्सांकन कार्य हालै सकिएको हो ।

नेपालका सबै प्रदेशको प्रतिनिधित्व हुने गरी विभिन्न ५६ ओटा जिल्लाबाट कुल २३ हजार २ सय ७३ ओटा माटोका नमूनाहरूको परीक्षण गरी तिनको नतीजाको विश्लेषणका आधारमा तयार गरिएको छ । यो डिजिटल नक्सा तयार गर्ने क्रममा स्याटेलाइट इमेजका आधारमा माटोको गुणहरू निर्धारणमा भूमिका खेल्ने भौगोलिक अवस्था, वनस्पति, वर्षा, तापक्रमलगायत विभिन्न वातावरणीय कारकतत्त्वमध्ये १ सय ६८ ओटा तŒवहरूलाई आधार मानिएको छ ।

माटोको डिजिटल नक्सांकन गर्नेमा नेपाल दक्षिण एशियामा पहिलो बनेकोमा खुशी व्यक्त गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नेपालको कृषिक्षेत्रको विकासमा यस कार्यले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन् । अब घरको कोठमा बसेर मोबाइल वा कम्प्युटरमार्फत आफ्नो जमीनको अवस्था थाहा पाउने अवसर प्राप्त हुनुले नेपालमा कृषिक्षेत्रले नयाँ गति लिने कुरामा आफू विश्वस्त भएको उनले बताइन् । नेपाली किसानले अब उत्पादनमा मात्र होइन, उत्पादनको बजारीकरण र निर्यातमा समेत जोड दिनुपर्ने उनले बताइन् ।

डिजिटल नक्सा https://soil.narc.gov.np मार्फत हेर्न सकिनेछ भने यसबाट आफूले चाहेको प्रदेश, जिल्ला र पालिका, वार्ड र घरधुरीसम्म गई त्यहाँको माटोको अवस्था थाहा पाउन सकिने प्रावधान रहेको छ ।

माटोको डिजिटल नक्साले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार गर्नमा समेत सहयोग गर्ने कृषि सचिव योगेन्द्रकुमार कार्कीले बताए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्