माथिल्लो तामाकोशीबाट वैशाखदेखिनै विद्युत् उत्पादन गर्ने तयारी
काठमाडौं,वैशाख ६ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट वैशाखभित्र ७६ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यो महीनाभित्र आयोजनाबाट उक्त परिणाममा विद्युत् उत्पादन गर्न लागिएको हो ।
आइतवार प्रतिनिधिसभा अन्तर्गत अर्थसमिति बैठकमा ऊर्जा सचिव दिनेश घिमिरेले भर्टिकल स्ल्याबको काम सबै सकिएको भन्दै वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको जानकारी दिए । जेठदेखि उत्पादन थप्दै लगेर भदौ भदौभित्र आयोजनाबाट पूर्ण क्षमतामा (४५६ मेगावाट) विद्युत् उत्पादन भइसक्ने उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजनामा वैशाख २० गते पहिलो युनिट चलाउने तालिका रहेको भए पनि एक दुई दिनअघि नै सञ्चालन हुने बताए । पहिलो युनिट सञ्चालन भइसकेपछि असार मसान्तसम्ममा चारओटा र साउन मसान्तसम्ममा बाँकी दुईओटा गरेर ६ ओटा युनिट सञ्चालनमा आउने उनको भनाइ छ । आयोजनाको काममा ढिलाइ भएको गुनासो आएपछि आफू केही दिनअघि मात्रै आयोजनास्थलको अनुगमनमा पुगेको भन्दै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै सम्पन्न हुने पनि बताए ।
ऊर्जा सचिव दिनेश घिमिरेले ढल्केबरको ४०० केभी सबस्टेशन पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताए । विद्युत् निर्यात मात्र नभएर आन्तरिक खपत बढाउन विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । ऊर्जा मन्त्रालयका अनुसार आगामी दिनमा ठूला र जलाशययुक्त आयोजनालाई अघि बढाउन प्रयास भइरहेको छ ।आर्थिक अभियानबाट

