१ वर्षदेखि ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात



काठमाडौं,वैशाख २१ । कोरोना महामारीका कारण बजारको चक्र बिग्रिएपछि १ वर्षको अवधिमा देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात हुन पुगेको छ । महामारीका कारण बजारमा खपत घटेपछि दुग्ध उद्योगी तथा व्यवसायीहरू विक्री नभएको दूधलाई धूलो (पाउडर) र बटर बनाएर मौज्दात गर्न बाध्य भएका हुन् ।

नेपाल डेरी एशोसिएशनले उपलब्ध गराएको तथ्यांकअनुसार मौज्दात रहेको ३ अर्ब रुपैयाँको धूलो दूध र बटरमध्ये एशोसिएशन भित्र मात्रै वर्ष दिनको अवधिमा करीब १ अर्ब रुपैयाँको दूध मौज्दात रहेको छ । यस वर्ष पनि कोरोना संक्रमणको दर बढ्दै गएर अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा मात्रै दूधको खपत करीब ६० प्रतिशतले घटेको बताइएको छ ।

एशोसिएशनका महासचिव प्रह्लाद दाहालका अनुसार दूधको खपत घटेसँगै मौज्दात अझै बढ्ने देखिएको छ । यसबाट दूध उत्पादक किसान, व्यवसायी र उद्योगी सबैलाई बढी भएको दूधलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा चुनौती थपिएको उनको भनाइ छ ।

गतवर्ष महामारीका कारण लामो समयसम्म भएको बन्दाबन्दीले होटल, रेस्टुराँ, स्कूल, कलेज, पार्टी प्यालेसलगायत दूध धेरै खपत हुने व्यवसायहरू बन्द हुन गई खपत घट्न पुग्दा उद्योगीहरूको नगद प्रवाह रोकिएको छ । यसले गर्दा अधिकांश उद्योगहरूले हालसम्म पनि किसानलाई दूधको भुक्तानी दिन नसकेको अवस्था छ ।

सरकारले उद्यागीहरूसँग मौज्दात रहेको सामानको रकम बराबर उद्योगलाई कर्जा उपलब्ध गराउनुपर्ने माग दुग्ध व्यवसायीहरूले राखेका छन् । त्यसो गर्दा किसानहरूले भुक्तानी पनि पाउने र उद्योगीहरूको दैनिकी पनि चल्न सजिलो हुने सरोकारवालाहरूको भनाइ छ ।

जारी निषेधाज्ञाका कारण अधिकांश दुग्धजन्य पदार्थ ढुवानीकर्ता व्यवसायीहरूले राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा तयार पारीएको दुग्ध पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग गरिने प्रतिक चि≈न (लोगो) प्राप्त गर्न कठिनाइ भएको महासचिव दाहालले जानकारी दिए ।

बोर्डले दुग्ध पदार्थ ढुवानीमा कुनै बाधा उत्पन्न नहोस् भनेर गत चैतमा नै प्रतीक चिह्न तयार गरेको थियो । तर, विभिन्न प्रक्रियाहरू बाँकी रहेकाले बोर्डले ढुवानीकर्ताहरूलाई प्रतीक चि≈न प्रदान गर्न सकेको छैन ।

वैशाख १६ गते निषेधाज्ञा हुनुभन्दा १ दिन अघि बोर्डले सूचना जारी गर्दै ढुवानीकर्ताहरूलाई प्रतीक चिह्नका लागि बोर्डमा सम्पर्क गर्न अनुरोध गरेको थियो । तर, निषेधाज्ञाका कारण हालसम्म पनि कुनै पनि ढुवानीकर्ता व्यवसायी, उद्योगी र शहकारी संस्थाहरूले प्रतीक चिह्न प्राप्त गर्न नसकेको बोर्डका सूचना अधिकारी अमोघ काफ्लेले स्वीकार गरे ।

उद्योगी व्यवसायीहरूलाई आवश्य परेको खण्डमा एशोसिएशन सँगको सहकार्यमा बोर्डमा निवेदन दिएर प्रतिक चिह्न प्राप्त गर्न सकिने उनले बताएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्