६७ जिल्लाका मकैबालीमा फौजी कीराको आक्रमण



काठमाडौंं,वैशाख २२। ६७ जिल्लाका मकै बालीमा फौजी कीराले आक्रमण गरेको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार फौजी कीराले तराई र पहाडका सबै जिल्लाका साथै केही उच्च पहाडी जिल्लामा भर्खरै रोपेर हुर्कंदै गरेको मकैमा आक्रमण गरेको छ ।

फौजी कीराले विशेषगरी मकै, गहुँ र धान बालीमा क्षति पुर्याउँछ । गतवर्ष यो कीराले ६३ जिल्लामा लगाइएको बालीमा क्षति पुर्‍याएको थियो ।

फौजी कीराले ६७ जिल्लामा लगाइएको मकैबालीमा क्षति पुर्याइरहेको जानकारी प्राप्त भए पनि हालसम्म कति क्षति पुगेको छ भन्ने विवरण भने प्राप्त हुन नसकेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए । पर्याप्त जनशक्ति नहुँदा क्षतिको विवरण संकलनमा कठिनाइ भएको उनले जानकारी दिए ।

यद्यपि प्रकोप नियन्त्रण तथा रोकथामका लागि जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय निकायका प्राविधिकलाई तालीम दिएर परिचालन गरिसकिएको छ । साथै केन्द्रको पहलमा विभिन्न सञ्चार माध्यमबाट फौजी कीरा प्रकोप नियन्त्रण सम्बन्धी जनचेतना फैलाउने काम भइरहेको बताइएको छ ।

कीरा नियन्त्रण तथा रोकथामका लागि चाहिने विषादीको उपलब्धता राम्रो भए पनि निषेधाज्ञाका कारण विषादी ढुवानीमा भने केही असहज देखिएको व्यवसायीले बताएका छन् । अहिले दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु, चितवन, वीरगञ्ज, बारा, पर्सा, रौतहट लगायत जिल्लाबाट विषादीको माग बढेको छ । निषेधाज्ञा नभएका जिल्लामा विषादीको ढुवानीमा समस्या नभए पनि निषेधाज्ञा भएको ठाउँमा भने समस्या देखिएको विषादी व्यवसायी संघ नेपालका अध्यक्ष छोटेलालप्रसाद लोहारले बताए ।

२ वर्ष अघिदेखि नेपालमा नवलपुरको गैंडाकोटमा देखिएको यो कीराको बारेमा तालीम प्राप्त बाहेक कृषक र धेरैजसो प्राविधिकलाई समेत ज्ञान नहुँदा पनि नियन्त्रणमा समस्या हुने गरेको विज्ञहरू बताउँछन् । खासगरी फागुनदेखि साउनसम्म यो कीरा सक्रिय हुन्छ । तर तराईका कतिपय जिल्लामा भने हिउँदमा समेत देखिएकाले यसले बाह्रै महीना असर गर्न सक्ने कृषि विज्ञहरू बताउँछन् ।

नेपालको हावापानीमा यो कीराले आफूलाई अनुकूल बनाइसकेकाले अब नेपालबाट यसलाई पूर्णरूपमा उन्मूलन गर्न नसकिने, तर खेती गरेको शुरुआती अवस्थादेखि नै ध्यान दिन सके नियन्त्रण गर्न सकिने विज्ञहरूको भनाइ छ । केन्द्रका प्रमुख हुमागाईंका अनुसार यो कीराको प्रकोपबाट बच्न बाली लगाउने बेला स्वस्थ बीउ, स्वस्थ माटो र सन्तुलित सिँचाइमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । यो कीराको लार्भाले बालीलाई बढी असर गर्ने भएकाले सिफारिश गरिएका विषादीको प्रयोग गरी लार्भा मार्नु उपयुक्त हुने उनले बताए ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्