अक्सिजन प्लान्ट र एचडीयूका लागि थप १७ करोड ८७ लाख

काठमाडौं,जेठ ९ । १३ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि सरकारले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासा उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले शुक्रवार उक्त रकम निकासाको स्वीकृति दिएको हो । उक्त रकममध्ये भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।
यस्तै डोटी अस्पतालका लागि ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्य विनायक अस्पतालका लागि ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख रुपैयाँ निकासा हुनेछ ।
यसअघि अर्थ मन्त्रालयले २६ ओटा केन्द्रीय अस्पताल र ९ ओटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको थियो । त्यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ ओटा अस्पतालमा एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ निकासाका लागि सहमति दिएको थियो ।
विभिन्न जिल्लाका १२ ओटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लाण्ट निर्माण गर्न १६ करोड ८० लाख र अन्य अस्पतालहरूमा अक्सिन प्लान्ट स्थापना तथा एचडीयू थप गर्न ८५ करोड रुपैयाँ ९३ लाख रुपैयाँको सहमति अर्थ मन्त्रालयले दिएको थियो । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरूप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको छ ।आर्थिक अभियानबाट

