समाजसेवी थपलियाको पहलमा नुवाकोट शिवपुरी र तादी गाउँपालिकामा अक्सिजन कन्सन्टेटर सहयोग



नुवाकोट,जेठ १९ । जिल्लामा कोरोनाभाइरस सङ्क्रमणदर वृद्धि भैरहेको र देशका अस्पताल तथा कोभिड आइसोलेशन सेन्टरले अक्सिजन अभाव खेपिरहेको समयमा समाजसेवी गोविन्द थपलियाको अगुवाईमा शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा ५ लिटर क्षमताको १० वटा अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरिएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला सदस्य समेत रहेका समाजसेवी थपलियासहित डाक्टर अमन गौतम र इन्जिनियर प्रताप अधिकारी को सयुंक्त पहलमा माउन्टेन हार्ट नेपाल नामक सामाजिक संस्थाले बुधबार उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो।

गाउँपालिकामा अक्सिजन कन्सन्टेटर स्थापनासंगै कोभिड वा श्वासप्रश्वास सम्बन्धी समस्याको कारण हुने मानवीय क्षति न्युनीकरण गर्न सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए।

अक्सिजन कन्सन्टेटर एक किसिमको विद्दुतीय मेसिन भएकाले यस्ले वायुमण्डलमको हावामा रहेको २१% अक्सिजन, ७८% नाइट्रोजन र अन्य ग्यासहरूबाट अक्सिजन फिल्टर गर्दछ । यस मेसिनले अक्सिजन सिलिन्डर आपूर्ति नभएको ठाउँमा कोभिड तथा अन्य श्वासप्रश्वास सम्बन्धी समस्याको कारण रगतमा अक्सिजनको कमी भएर पूरक अक्सिजन चाहिएको व्यक्तिलाई फाइदा पुर्याउने भएकाले ग्रामिण क्षेत्रका बिरामीलाई लाभदायक हुने गाउँपालिकाका स्वास्थ्य प्रमुख उद्दब कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्