केही खुकुलो बनाउँदै १० दिन थपियो निषेधाज्ञा

काठमाडौं,जेठ २० । उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारी जेठ मसान्तसम्म थपिएको छ । बुधवार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बैठकले केही क्षेत्र सहज बनाएर जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रजिअको बैठकले यसअघिको बैठकले बन्द गरेका किराना पसल, खाद्यान्न, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) खोल्न दिने निर्णय गरेको हो । साथै, वर्कशप पनि खोल्न दिइने भएको छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले अघिल्लो साताको बैठकले रोकेकासहित जनजीवन सहज बनाउने गरी निषेधाज्ञा खुकुलो पारिएको जानकारी दिए ।
उनका अनुसार बिहान ९ बजेसम्म तरकारी, खाद्यान्न, किराना पसल, खानेपानी, दूध, मासु, ग्यास पसल, वर्कशपलगायत क्षेत्र सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको छ । वर्कशप भने राति ९ बजेदेखिमात्रै सञ्चालन गर्न दिने उनको भनाइ छ ।
बैठकले निर्माणका क्षेत्रसमेत खुला गर्ने निर्णय गरेको छ । राति ९ बजेदेखि बिहान ४ बजेसम्म निर्माणका सामग्री ढुवानी गर्न दिइनेछ । यसअघि यसमा रोक लगाइएको थियो ।
रोपाइँका बेला भएकाले कृषिसँग सम्बद्ध कामका लागि भौतिक दूरी कायम गरेर हिँडडुल गर्न दिने निर्णय पनि बैठकले गरेको छ । खाद्यान्न, फलपूmल, तरकारीलगायत प्याकिङ गरिएका सामग्री बोकेका सवारी सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको छ ।
दश दिनको कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णय लिइने काठमाडौंका प्रजिअ पराजुलीले जानकारी दिए । आर्थिक अभियानबाट

