मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा साढे ११ लाखभन्दा बढीले दिए आवेदन

काठमाडौं,साउन १६ । मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा दोस्रो दिनसम्ममा साढे ११ लाखभन्दा बढीले आवेदन दिएका छन्।
विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार शुक्रवार साँझ ५ बजेसम्ममा उक्त कम्पनीको आईपीओमा ११ लाख ५८ हजार ५८५ जना आबेदकबाट १ अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३४० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो।
कम्पनीले बिहीवारदेखि सर्वसाधारणका लागि रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री खुला गरेको हो । उक्त मूल्य बराबरको प्रतिकित्ता रू. १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेका हो ।
सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको हो ।
मागभन्दा बढी आवेदन पहिलो दिनमै परिसकेकाले यो आईपीओ छिटोमा साउन १८ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने संकेत गर्दछ ।