सरकारी जागीर छाडेर गाईपालन



धनकुटा, भदौ १३। धनकुटाको महालक्ष्मी नगरपालिका–१ खाप्राङका धनबहादुर कटुवालको दिनचर्या अहिले फेरिएको छ । गाईपालन शुरू गर्नुअघि शिक्षण पेशामा रहेका उनी घरनजिकै रहेको गाईफार्ममा बिहानदेखि बेलुकासम्म व्यस्त रहन्छन् ।

२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालीन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । उक्त काम थालेको ३ वर्षपछि सशस्त्र द्वन्द्वका कारण कार्यक्रम नै बन्द भयो । त्यसको केही समयपछि स्थानीय खाप्राङ माविमा साढे ५ वर्ष शिक्षकको रूपमा सेवा गरेका उनले २०६९ सालदेखि व्यावसायिक रूपमा पशुपालन थालेका हुन् ।

सरकारी जागीर छाडेर गाईपालन गर्ने कमैमध्ये पर्छन् कटुवाल । महालक्ष्मी नगरपालिका–१ मा ‘पशु तथा कृषि फार्म’ नामबाट उनले व्यावसायिक गाईपालनलाई निरन्तरता दिँदै आएका छन् । ‘सरकारी जागीर खाँदा अरूको नियन्त्रणमा बस्नुपरेको थियो, अहिले स्वतन्त्र भएर काम गर्न पाएको छ, यसबाट आम्दानी त छ नै, आत्मसम्मान समेत मिलेको छ ।’

गाईपालनबाट आफूले मासिक १ लाख रुपैयाँ बराबर आम्दानी गर्दै आएको उनले सुनाए । गाउँमा रहेको जग्गा पनि बाँझो हुन थालेको र त्यही जग्गाको उपयोग गरेर केही गर्नुपर्छ भन्ने सोचले आफू यो पेशामा आएको उनले बताए । ‘हामीले कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने हो भने यसबाटै स्वरोजगार उद्यमी बन्न सकिन्छ,’ उनले भने, ‘व्यावसायिक रूपमा पशुपालन नगरेकाले धेरै मानिस यसबाट आम्दानी नै भएन, घाटा भयो भन्छन् । यसले यो पेशामा आउन चाहनेहरूका लागि नकारात्मक सन्देश जान्छ ।’ कुनै पनि पेशा आफैमा नराम्रो नहुने धारणा राख्ने उनी सुझबुझ र मेहनतपूर्वक निरन्तर रूपमा लागिपरेमा जुनसुकै व्यवसायबाट फाइदा लिन सकिने बताउँछन् ।

२०६९ सालमा ८ लाख रुपैयाँ लगानीमा गोरखाबाट गाई ल्याएर व्यवसाय शुरू गरेका कटुवालले हालसम्म ५० लाख लगानी भइसकेको बताए । अहिले उनको फार्ममा हाल १५ ओटा गाई छन् । उनले ७२ रोपनी जमीनमा घाँसखेती गरेका छन् । यो व्यवसायबाट आफ्नो घरका दुई जनासहित अन्य दुईलाई रोजगारी दिन सकेको उनले बताए ।

कटुवाललाई यो पेशामा पत्नी यामकुमारी कटुवालले पनि साथ दिएकी छिन् । नजिकैको एक विद्यालयमा शिक्षिका रहेकी उनले आफूले बिहान बेलुकाको समयमा खोले, कुँडो, घाँस, गोबरको काममा साथ दिएको बताइन् । घरपरिवार मिलेर गरेको व्यवसाय बढाउने तयारी भइरहेको भन्दै उनले यसमा जनशक्तिको अभाव रहेको गुनासो गरिन् । पुरुषहरू रोजगारीका लागि विदेश पलायन हुनुभन्दा परिवारसँगै बसेर व्यवसाय गर्नु राम्रो हुने उनको अनुभव रहेको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा ईश्वर थापाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्