सीमावर्ती क्षेत्रका होटेल व्यवसाय संकटमा



वीरगञ्ज,भदौ २५ । भारतीय सिमानाबाट मानिसको आवागमन निर्बाध रूपमा भइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि निजी सवारीसाधनको आवागमनमा लगाइएको रोक भने अझै हटेको छैन ।

अहिले निषेधाज्ञा नाममात्रको रहेको र अन्य बजार, व्यवसाय सामान्य लयमा फर्किइसकेको अवस्थामा सिमानामा सवारी आवागमन सुचारू नहुँदा सीमाक्षेत्रका होटेल र पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको व्यवसायीहरूले बताएका छन् ।

भारतीय सीमावर्ती क्षेत्रका होटेल व्यवसाय भारतीय पाहुनामा आधारित रहेकाले सिमाना सहज नहुँदा व्यवसाय नराम्ररी प्रभावित भएको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए ।

भारतीय निजी सवारीसाधनको आवागमन तत्काल खोल्न व्यवसायीले माग गरेका छन् । सिमानामा सर्वसाधारणको पैदल आवागमन र अन्य गतिविधि सामान्य अवस्थामा फर्किइसकेकाले गाडीमात्र रोक्नुको औचित्य नभएको तर्क पन्तको छ ।

व्यवसायीले स्थानीय तह, प्रशासनदेखि केन्द्रीय निकायसम्म सवारीसाधनको आवागमन खोल्न माग गरिसकेका छन् । ‘सबै निकायमा यो माग पुर्‍याइसक्यौं । सबैतिरबाट आश्वासनमात्र पाएका छौं । व्यवसाय भने चौपट भइसक्यो,’ पन्तले आर्थिक अभियानसित भने ।

व्यवसाय नचल्दा बैंकको ब्याज, होटेलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत्लगायत नियमित खर्चको भार बढिरहेको र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनले बताए ।

भारतीय निजी गाडी आउन नदिएपछि स्थलमार्गबाट आउने भारतीय ग्राहकको आगमन ठप्प भएको व्यवसायी बताउँछन् । २०७६ चैत ११ मा पहिलोपटक बन्दाबन्दी भएयता भारतीय निजी गाडीको आवागमन रोकिएको हो ।

व्यवसायीले गतवर्ष बन्दबन्दी खुलेको केही महीनापछि केन्द्रीय कोभिड व्यवस्थापन केन्द्रमा यो समस्या पुर्‍याएका थिए । केन्द्रले सवारी आगमन खोल्ने आश्वासन दिएलगत्तै भारतमा कोरोनाको दोस्रो लहर शुरू भयो । त्यसपछि निर्णय रोकियो । गत वैशाखमा पुनः निषेधाज्ञा लागेपछि सिमानामा स्वाभाविक कडाइ भयो ।

अहिले सीमावर्ती क्षेत्रका नेपाल र भारत दुवैतर्फ संक्रमण नगण्य रहेको र अन्य दिनचर्या सामान्यजस्तै रहेकाले गाडीको आवागमन तत्काल खुलाउनुपर्ने व्यवसायीको माग छ । स्थानीय स्तरबाट माग सम्बोधन नभएको भन्दै व्यवसायीले प्रधानमन्त्रीलाई नै भेटेर आग्रह गर्ने योजना बनाएका छन् । व्यवसायीले यसबारेमा स्थानीय जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई पटकपटक आग्रह गरिसकेका छन् । केन्द्रको संयोजक रहेका प्रमुख जिल्ला अधिकारीले यो केन्द्रको निर्णय भएकाले आफूले केही गर्न नसक्ने बताउँदै आएका छन् ।

नाममात्रको मापदण्ड
कोरोना महामारी नियन्त्रणका लागि लिइएको सरकारी निर्णयलाई मान्ने हो भने अहिले पनि अत्यावश्यक अवस्थामा नेपाली नागरिकबाहेकलाई आवागमनको अनुमति छैन । आवागमनमा स्वास्थ्य सतर्कताको मापदण्ड पनि बनाइएकै छ, तर पालना छैन । सीमा नाकामा दोहोरो पैदल आवागमनमा कुनै प्रकारको रोकटोक देखिँदैन । सुरक्षाकर्मी यस्तो आवागमनमा मूकदर्शक बनेका छन् ।

निजी सवारी आउजाउ भने गर्न दिइएको छैन । पैदल आवतजावतमा सिमानामा खटिएका सुरक्षाकर्मीले कुनै अवरोध गर्दैनन् । तर, निजी सवारीसाधनको आवागमनका लगाइएको प्रतिबन्ध अहिलेसम्म हटाइएको छैन ।

जिल्लाका प्रशासकहरू सिमानाबाट सर्वसाधारणको आवागमन रोक्न नसकिने स्वीकार गर्छन् । सवारी आवगामनमा रोक कायमै रहेपछि सर्वसाधारण पैदल हिँडेर सिमाना आरपार गर्न बाध्य छन् । पैदल आउजाउ नरोकिनु, तर सवारी चलाउन नपाउँदा सीमाक्षेत्रबाट आवागमन अस्तव्यस्त बनेको छ । यसले कोरोना संक्रमणको जोखिम झन् बढाएको विश्लेषण व्यवसायी र सरोकारका पक्षको छ । सिमानामा पैदल आउजाउभन्दा निजी सवारी साधनमा हिँड्दा संक्रमणको जोखिम कम हुने उनीहरू बताउँछन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्