प्रतिस्थापन विधेयक : करका दरमा हेरफेर



विभिन्न सहुलियतको घोषणा

काठमाडौं,भदौ २७ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा करका दरहरूमा हेरफेर गरिएको छ भने सहुलियतको घोषणा पनि गरिएको छ ।

पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण र कर दाखिला गरेका करदाताले आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्मको आफ्नो कारोबार घोषणा गर्दा कारोबार अंक फरक परेको भएमा त्यस्ता करदाताले २०७८ चैत मसान्तभित्र प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको विक्री रकमको १ दशमलव ५ प्रतिशत कर दाखिला गरेमा करदाताले घोषणा गरेको हदसम्मको कर अन्तिम हुने व्यवस्था गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ पुस मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरिएको छ । भन्सार विन्दुमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण कर तथा महशुल विद्युतीय प्रणालीमार्फत गर्न सक्ने व्यवस्था मिलाइने बताइएको छ । अन्तःशुल्क स्टिकर प्रयोग गर्दा क्यूआर कोड स्क्यान गरी सोको तथ्यांक आन्तरिक राजस्व विभागको स्वचालित प्रणालीमा अभिलेख गर्ने प्रबन्ध गरिएको छ ।  

व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था मिलाइने प्रतिस्थापन विधेयकमा उल्लेख छ ।

२०८२ चैतसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २०० मेगावाट माथिका जलाशय तथा अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले व्यापारिक कारोबार शुरू गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छूट दिने व्यवस्था गरिएको छ । त्यस्ता आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लाण्ट, मेशिनरी औजार एवं सोको पार्टपुर्जा, पेनस्टक तथा स्टील सीटको पैठारीमा लाग्ने महशुल घटाई १ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकर छूट सम्बन्धी विशेष छूट सहुलियत प्रदान गर्ने व्यवस्था मिलाइएको छ । नक्कली बिल बीजक, नक्कली अन्तःशुल्क स्टिकरको प्रयोग एवं अन्तःशुल्कसम्बन्धी चुहावट नियन्त्रण गर्न कडाइका साथ अनुगमन, सूक्ष्म निगरानी एवं बृहत् अनुसन्धान तीव्र पारिने भएको छ ।

स्वास्थ्य खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरू भएको मितिले ३ वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको २ वर्षसम्म ५० प्रतिशत छूट हुनेछ । यस्तै, चुरोटमा कर बढाइएको छ । अहिले चुरोट तथा सिगारमा प्रतिखिल्ली ५० पैसा स्वास्थ्य जोखिम कर लाग्दै आएकोमा १० पैसा बढाएर ६० पैसा बनाइएको छ । यस्तै बिडीमा २५ पैसा लाग्दै आएको स्वास्थ्य जोखिम कर ५ पैसा बढाएर ३० पैसा बनाइएको छ ।

यसैगरी सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलो ४० रुपैयाँ स्वास्थ्य जोखिम कर लाग्दै आएकोमा २० रुपैयाँ बढाएर ६० रुपैयाँ पुर्याइएको छ । मदिरामा भने कुनै हेरफेर गरिएको छैन । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्