सर्वोत्तम स्टीलमा विस्फोट प्रकरण : भवितव्य कि सुरक्षामा लापरबाही ?



वीरगञ्ज,असोज ३ । वीरगञ्ज महानगरपालिका–२८ मनियारीस्थित सर्वोत्तम स्टीलमा पाँच जना कामदारको ज्यान जाने गरी भएको भट्टी विस्फोटको घटनालाई भवितव्य भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छैन । गत भदौ १० गते उद्योगको कवाडी पगाल्ने भट्टीमा विस्फोट हुँदा त्यहाँका १५ कामदार घाइते भएकामा तीमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

ज्यान गुमाउने सबै भारतीय नागरिक भएको र कामदार आपूर्ति गर्ने ठेकेदारले नै क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको भन्दै प्रहरीले अनुसन्धान अघि नबढाएको हो । प्रहरीले घटनालगत्तै घटनास्थलको मुचुल्का उठाएको थियो । त्यसक्रममा उद्योगले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा  लापरबाही गरेको भेटिएको थियो ।

उद्योगमा व्यवसायजन्य सुरक्षा मापदण्डको पालनामा  लापरबाही देखिएको प्रहरीले बताएको छ । तर, कतैबाट उजुरी नआएको भन्दै प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छैन । घटनास्थलको स्थलगत निरीक्षण गर्दा व्यवसायजन्य सुरक्षा पालना नगरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

उद्योगमा भट्टी परीक्षणका क्रममा विस्फोट भएको प्रहरीको बुझाइ छ । ‘परीक्षण गर्दा घटना भएको देखिन्छ । सुरक्षा मापदण्डअनुसार त्यो भट्टी क्षेत्रमा कामदार राख्न मिल्दैनथ्यो । यसमा गल्ती देखिन्छ,’ पाण्डेले आर्थिक अभियानसित भने ।

ठेकेदारले कामदार आपूर्ति गरेको र त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदारले स्वीकार गरेको सम्झौता उद्योग व्यवस्थापनले पेश गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । तर, श्रम ऐन २०७४ को दफा ६८ ले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दायित्व रोजगारदाताको हुने व्यवस्था गरेको छ ।

दफा १६४ (२) मा जानीजानी वा  लापरबाही गरी प्रावधान उल्लंघन गरेका कारण कसैको ज्यान गएमा वा अंगभंग भएमा प्रचलित कानूनमा कुनै सजाय भएमा सोहीबमोजिम र नभएमा २ वर्षसम्म कैद र उचित क्षतिपूर्ति तिराउने प्रावधान छ ।

घटनालगत्तै मुचुल्का उठाउन गएको प्रहरीले कवाडी फलाम गलाउने उद्योगको भट्टीमा ग्यास सिलिन्डर हालिएको र सोही सिलिन्डर पड्किएर घटना भएको फेला पारेको थियो । उद्योग परिसरमा ग्यासका पुराना सिलिन्डर यत्रतत्र छरिएको र त्यस्ता सिलिण्डर सोझै भट्टीमा हाल्ने गरेको पाइएको एक प्रहरी अधिकृतले बताए । घटनालाई सामसुम बनाउन राजनीतिक दबाब आएको पनि ती अधिकृतले खुलासा गरे ।

उद्योगमा कुनै प्रकारको दुर्घटना भए तत्कालै श्रम तथा रोजगार कार्यालयलाई जानकारी दिनुपर्नेमा उद्योगले यसमा पनि  लापरबाही गरेको भेटिएको छ । उद्योगले अहिलेसम्म यस्तो जानकारी नदिएको कार्यालय प्रमुख जितेन्द्र शर्माले बताए । ‘दुर्घटनालगत्तै जानकारी दिनुपर्ने भए पनि उद्योगले घटनाबारे अनौपचारिक जानकारी दिएको छैन,’ शर्माले भने ।

बारा–पर्साका औद्योगिक प्रतिष्ठानमा व्यवसायजन्य सुरक्षाको कार्यान्वयन कमजोर रहेको उनले बताए । ‘अधिकांश उद्योगले सुरक्षाका उपाय अपनाएका छैनन् । स्टील उद्योगमा यसको कार्यान्वयन अझ दयनीय छ,’ शर्माको भनाइ छ ।

उद्योगका सञ्चालक राजेश अग्रवालसित बुझ्न खोज्दा यसबारेमा कुरा गर्न चाहेनन् । ‘म अहिले बाहिर छु । यसबारेमा पछि कुरा गराैंला,’ अग्रवालले भने ।

अहिले घटनाबारे थप प्रक्रिया अघि नबढाइए पनि २ वर्षभित्र कुनै पनि प्रकारको नयाँ तथ्य फेला परेमा कारबाही अघि बढ्ने प्रहरी उपरीक्षक पाण्डेले बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमरे यो घटनालाई भवितव्य औद्योगिक दुर्घटना मान्छन् । मृतक सबै भारतीय रहेको, उनीहरूको मृत्यु र अन्त्येष्टिसमेत भारतमै भइसकेकाले थप प्रक्रिया अघि नबढेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

विष्फोटमा १५ जना घाइते भएकामा १४ जना भारतीय थिए । गम्भीर घाइते ६ जनालाई उपचारका लागि भन्दै भारतको पटना पुर्‍याइएकोमा पाँच जनाको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युको १ सातापछि मात्रै उद्योग व्यवस्थापनले प्रहरीलाई यसबारेमा जानकारी दिएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्