सुदूरपश्चिम विश्वविद्यालय : ५ वर्षको बेरुजू ५ करोड ७८ लाख



महेन्द्रनगर,असोज ४ । सुदूरपश्चिम विश्वविद्यालयमा बेरुजूको चाङ बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार पछिल्लो ५ वर्षमा विश्वविद्यालयको बेरुजू ५ करोड ७८ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

महालेखा परीक्षकको ५८औं प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०७६/७७ मा मात्रै विश्वविद्यालयको बेरुजू २ करोड ५२ लाख ६८ हजार देखिएको छ, जसमा असुल गर्नुपर्ने ६ लाख ४५ हजार, अनियमित भएको ३७ लाख ८१ हजार र कागजात नपुगेको २ करोड ८ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

केन्द्रीय कार्यालय, सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय, संकाय विभाग तथा आंगिक क्याम्पससहित ३१ ओटा निकायमा लेखापरीक्षण गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । ८८ वडा शिक्षक÷कर्मचारी रहेको विश्वविद्यालयमा अघिल्लो आवमा ४४ करोड ३३ लाख रुपैयाँ खर्च गरिएको छ । विश्वविद्यालय ऐनको दफा ३ मा विश्वविद्यालयले आफ्नो आयव्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली अनुसार राख्नुपर्ने र तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । तर ऐन लागू भएको ९ वर्षसम्ममा पनि लेखाको ढाँचा नतोकेको, लेखाका नीतिहरू तयार नगरेको र आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था नगरेको पाइएको महालेखाले औंल्याएको छ ।

विश्वविद्यालयले सार्वजनिक लेखामान अनुसार लेखा र वित्तीय विवरणको ढाँचा तोकी कार्यान्वयमा ल्याउन महालेखा सुझाएको छ । ५७औं प्रतिवेदन अनुसार आव २०७५/७६ मा विश्वविद्यालयको बेरुजू १ करोड १३ लाख ६ हजार रहेको छ, जसमा अनियमित २८ लाख ३५ हजार, प्रमाण नपुगेको ८४ लाख ७१ हजार र असुल उपर गर्नुपर्ने ८ लाख १३ हजार छ ।

यसैगरी आव २०७४/७५ मा विश्वविद्यालयको बेरुजू ९३ लाख ८४ हजार रहेको छ, जसमा अनियमित ९१ लाख ६८ हजार, प्रमाण नपुगेको १ लाख ८० हजार र अन्य असुल उपर गर्नुपर्ने रकम छ । यस्तै आव २०७३/७४ को बेरुजू ७४ लाख ७५ हजार रहेको महालेखाको ५५औं प्रतिवेदनमा उल्लेख छ । आव २०७२/७३ मा २१ करोड २५ लाख ६५ हजार रकमको लेखा परीक्षण गरिएकोमा ४३ लाख ७३ हजार बेरुजू देखिएको छ । विश्वविद्यालयको ५६औं प्रतिवेदनअघिको बेरुजू मात्रै ३ करोड २३ लाख ३१ हजार छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्