दशैँका लागि सहज हुँदै पृथ्वी राजमार्ग



काठमाडौं,असोज १७ । काठमाडौँको ‘लाइफलाइन’का रूपमा लिइने नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालिएको छ । काठमाडौँ र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने सो राजमार्ग वर्षाका कारण बेलाबेला अवरुद्ध हुँदै आएको छ । दशैँ नजिकिँदै गर्दा सडक विभागले नारायणगढ–मुग्लिन सडक मर्मत थालेको हो । डिभिजन सडक कार्यालय चितवनले सडक मर्मत तथा सुधार कार्य सुरु गरेको छ ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिवप्रसाद खनालका अनुसार दशैँमा यात्रुका लागि सडक यात्रा सहज र सुरक्षित बनाउन सडक मर्मत तथा सुधार थालिएको हो । वर्षात् जारी रहेका कारण सडकका ठाउँ–ठाउँमा झरेको पहिरो पन्छाउने र राजमार्गमा परेका खाल्डाखुल्डी टाल्ने कार्य थालिएको खनालले जानकारी दिनुभयो । धादिङको पिपला मोडदेखि मुग्लिनसम्मको ८२ किलोमिटर (पृथ्वी राजमार्ग) र मुग्लिनदेखि नारायणगढसम्मको ३६ किलोमिटर (नारायणगढ–मुग्लिन सडक) डिभिजन सडक कार्यालय भरतपुरको कार्यक्षेत्रभित्र पर्छ । वर्षाका कारण खसेका पहिरो र ठाउँ–ठाउँमा सडक भासिएकाले यो सडक मार्गको यात्रा कठिन बन्दै आएको छ ।

नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सम्पन्न भई दुई वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको थियो ।इन्जिनियर खनालका अनुसार सडक मर्मत सुधारका लागि डिभिजन सडक कार्यालयले २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यो बजेटमध्ये ८० प्रतिशतभन्दा बढी पृथ्वी राजमार्गमा मात्रै खर्च हुने अनुमान गरिएको छ । उहाँका अनुसार नारायणगढ मुग्लिन सडकमा मर्मत गर्नुपर्ने धेरै छैन । खनालले भन्नुभयो, “जति सडक मर्मत सुधार गर्नुपर्ने भनेकै पृथ्वी राजमार्ग हो । ” उहाँका अनुसार, पृथ्वी राजमार्गको धेरै ठाउँमा अहिले खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

पृथ्वी राजमार्गको चितवन खण्ड मोवाखोलादेखि मुग्लिनसम्म तीनवटा पहिरो पन्छाउनुपर्ने अवस्था छ । मुग्लिनदेखि नारायणगढसम्मको नारायणगढ–मुग्लिन सडकमा चारवटा ठूला पहिरोले राजमार्गमा अवरोध भएको थियो । राजमार्ग अवरुद्ध हुनेगरी पहिरो खस्नुमा सडकका माथिल्ला क्षेत्रमा जथाभावी निर्माण गरिएको ग्रामीण सडक जिम्मेवार भएको विज्ञहरूको धारणा छ ।राजमार्गमाथि स्थानीय निकायले ग्रामीण सडक बनाइरहेका छन् । डिभिजन प्रमुख बाबुराम सापकोटाले कच्ची सडक खन्दा निकालिएका माटो र ढुङ्गाले वर्षामा पहिरोको रूप लिएर राजमार्गमा अवरोध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मर्मत सुधार नियमित प्रक्रिया हो तर अहिले पहिरो थप समस्या बनेको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्