दशैंमा नोटको सुरक्षा गर्न आकर्षक ‘खाम’



काठमाडौं,असोज २६ । दशैंमा रातो टीका र जमरा लगाउँदा मान्यजनहरूले आर्शिवादसँगै छोरीचेली, भान्जाभान्जी, ज्वाइँचेलालाई दक्षिणास्वरूप नगद समेत दिने प्रचलन छ । दक्षिणा दिने हाम्रो परम्परा डिजिटल युगले जति फड्को मारे पनि तत्काल हट्ने देखिँदैन । तर रातो टीका लगाइदिने हातले नगद नोट पनि चलाउँदा नोट बिग्रिन्छन् । त्यसकारण राष्ट्र बैंकले नोट सफा राख्न अनुरोध गर्दै सूचना जारी गर्छ । नोट कसरी सफा राख्ने त ?

नोट सफा राख्ने धेरै उपायमध्ये एउटा हो, नोटलाई खामभित्र राखेर दक्षिणा दिने । यसका लागि उपयुक्त विभिन्न किसिमका खाम बजारमा पाइन्छन् । आकर्षक खाममा राखेर दक्षिणा दिँदा दक्षिणा पाउने बढी खुशी हुने वातावरण बन्न सक्छ । अलिकति खोजी गरेमा नेपाली बजारमा पारदर्शी, झ्याल भएका र रङीचंगी खाम पाइन्छन् । यस्ता खाम अनलाइनबाटै पनि खरीद गर्न सकिन्छ, जसबारे यहाँ केही चर्चा गरिएको छ :

चमकदार रातो खाम
 यो खाम बजारमा सहजै पाउन सकिन्छ । साथै ई–कमर्श साइटहरूबाट समेत किन्न सकिन्छ । तर यस्तो खाम तुलनात्मक रूपमा केही महँगो पर्छ । एउटै खामको मूल्य रू. १०० पनि पर्छ ।  

गणेश अंकित खाम
यस्तो खाम पनि बजारमा सहजै पाइन्छ । तर यो झन् महँगो छ । यो खाम अनलाइन शपिङ गर्दा एउटैको ४०० रुपैयाँ पर्छ ।

सगुन खाम
सगुन खाम विशेषगरी विवाह, पूजाआजा, चाडपर्वमा प्रयोग गरिन्छ । दशैंमा पनि यसको प्रयोग गर्न सकिन्छ । यो खाम विभिन्न रंङहरूमा बजारमा उपलब्ध छन् । यसको मूल्य ५० रुपैयाँ पर्ने गरेको छ ।

क्रीम खाम
यो खाम सेतो, रातो, नीलो, पहेँलो जस्ता विभिन्न रङमा सादा हुने भएकाले यसको नाम ‘क्रीम’ खाम भनिने गरिएको हो । यो खामलाई चाडपर्वमा प्रयोग गर्न सकिन्छ । साधारण तर चारकोण मिलेको भएकाले यो खामलाई आकर्षक मानिने गरिएको छ । २५ पिस खामलाई अहिले बजारमा दशैं अफर भन्दै २२५ रुपैमाँ अनलाइन शपिङले विक्री गरिरहेका छन् ।

नेपाली कागजका खाम
नेपाली कागजमा नै बनेका खाम बजारमा प्रशस्त पाउन सकिन्छ । ती खाम विभिन्न रङ, चित्र, आकृतिहरूमा उपलब्ध छन् । यस्ता तीनओटा खामको मूल्य १३५, चारओटाको १८० रुपैयाँमा पाउन सकिन्छ ।

आफूले दिएको दक्षिणा खामभित्रै रहे पनि बाहिरैबाट देखियोस् भन्ने चाहना हो भने पूरा पारदर्शी खाम पनि पाइन्छन् । खामभित्र के छ भन्ने थाहा पाउन सकिने तर पूरै पारदर्शी पनि नभएको खाम चाहिने हो भने झ्याल भएको खाम पनि पाइन्छ । झ्याल भएको खाम विभिन्न संस्थाले पत्राचारमा पनि प्रयोग गर्छन् ।

सफा नोटमा राष्ट्र बैंकको साँच्चै चासो हो भने नयाँ नोट सटही गर्दा नै राष्ट्र बैंकले सर्वसाधारणलाई खाम पनि दिने गर्नु उपयुक्त हुन्छ, सित्तैमा वा सहुलियत मूल्यमा ।

नोटको सुरक्षामा राष्ट्र बैंकको चासो
नोटको सुरक्षामा राष्ट्र बैंकले चासो देखाएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल चाडपर्वको बेला नोटलाई सुरक्षित तवरले प्रयोग गर्न खामदेखि वालेटसम्मको प्रयोग गर्न सकिने सुझाउँछन् । उनका अनुसार नोट सबैको सम्पत्ति भएकाले नोटलाई जतनसाथ प्रयोग गर्नुपर्छ । नोटको जतन गर्न ‘मनीब्याग’को प्रयोग गर्नुपर्छ । नोटमा केरमेट गर्नुहुँदैन, नोटलाई मैलो पार्ने कुनै काम गर्नुहुँदैन । सुकिला नोटको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । कारोबारको भुक्तानी दिँदा यथाशक्य विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोग गरेमा नोटको जतन हुन सक्छ । नोटमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्न गाह्रो हुने र नोटको आयुसमेत घट्ने हुँदा यस्तो कार्य गर्नुहुँदैन । धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा रङ, पानी, दूध, रगत पर्ने सम्भावना हुने हुँदा यसबाट जोगाउन बरु खामको प्रयोग गर्ने, दान पेटिकामा खसाल्ने वा रसिद लिई चन्दा दिने गर्नुपर्छ ।

प्रस्तुति : विजय दमासे

प्रतिक्रिया दिनुहोस्