सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा बाढी : आधाभन्दा बढी उद्योगको उत्पादन ठप्प



विराटनगर,कात्तिक ५ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योगमा बेमौसमी वर्षाका कारण पसेको बाढीले करोडौंको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग संगठन मोरङले बाढीको क्षतिबारे तथ्यांक संकलन शुरू गरेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योगमा बाढी पसेर क्षति पुगेको तर कति क्षति भयो भन्ने यकिन नभएको बताए । उनले भने, ‘हामीले उद्योगीहरूसँग तथ्यांक संकलन गरिरहेका छौं, तथ्यांकसहित २/३ दिनमा क्षतिको विवरण सार्वजनिक गर्नेछौं ।’

उद्योगभित्र छिरेको पानी कसरी बाहिर निकाल्ने, पानीमा डुबेका कच्चा पदार्थ र तयारी वस्तु कसरी जोगाउने भन्ने ध्याउन्नमा उद्योगीहरू रहेकाले तत्कालै तथ्यांक आउन नसकेको प्याकुरेलले बताए । उनका अनुसार सुनसरी मोरङ औद्योगिक कोरिडोरका करीब ८० प्रतिशत उद्योगमा पानी पसेको छ । धेरै उद्योगी अहिले कारखानाभित्र र बाहिरको पानी निकाल्नमै व्यस्त छन् ।

मोरङ व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीले बूढीगंगा, दुहबी, सोनापुर, इटहरी र मोरङको कटहरी क्षेत्रका अधिकांश उद्योगमा बाढीको पानी पसेर तहसनहस पारेको बताए । उनले अधिकांश उद्योगहरूले पानीको कारण उत्पादन बन्द गरेर उत्पादित वस्तु र कच्चा पदार्थको व्यवस्थापन थालेको जानकारी दिए । रेग्मीले उद्योगका मेशिन, मोटर, औजार, कच्चा माल, प्याकेजिङ सामग्री, गोदामका तयारी माल, ढुवानीका साधनलगायत धेरैतिर नोक्सानी भएको जानकारी दिए ।

नेपाल उद्योग परिसंघका प्रदेश १ उपाध्यक्ष तथा क्वालिटी बिस्कुटका सञ्चालक नबलकिशोर काबराले आफ्नो उद्योगमा ५ करोडभन्दा बढीको क्षति हुनसक्ने अनुमान गरे । बिहीवार उद्योग परिसरमा ६ ओटा पम्प लगाएर पानी फालिरहेको उल्लेख गर्दै उनले पानीले बिस्कुटमा बढी क्षति पुर्‍याउने भएकाले क्षतिको विवरण संकलन गर्न १ साता लाग्ने बताए ।

नेपाल उद्योग परिसंघका महानिर्देशक विजयहरि शर्माले उद्योगहरूमा बाढीको कारण करोडौंको क्षति पुगेको उल्लेख गर्दै बीमाको रकम तत्काल उपलब्ध गराउन सम्बद्ध निकायको ध्यानाकर्षणसमेत गराएका छन् । उद्योगहरूमा मेशिनरी, तयारी वस्तु र कच्चा पदार्थको समेत क्षति भएकाले उद्योगहरूले सञ्चालन हुँदासम्म निकै क्षति बेहोर्नुपर्ने अवस्था रहेकाले बीमा रकमको भुक्तानीमा ढिलाइ नहोस् भनेर बीमा समितिका अध्यक्षको ध्यानाकर्षण गराएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्