‘स्टार्टअपलाई संस्कृतिका रूपमा विकास गर्नुपर्छ’



काठमाडौं ,मंसिर १० । सरोकारवालाहरूले स्टार्टअप उद्यमलाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने बताएका छन् । स्टार्टअप क्षेत्रसँगै समग्र अर्थतन्त्रको विकासका लागि पनि स्टार्टअपलाई सस्कृतिका रूपमा विकास गर्नुपर्ने उनीहरूले बताएका हुन् । न्यू बिजनेश एज प्रालिले बिहीवार राजधानीमा आयोजना गरेको कुमारी बैंक न्यू बिज स्टार्टअप समिट एन्ड अवार्डअन्तर्गतको प्यानल डिस्कशनमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यम विकास समितिकी उपसभापति जुना माथेमाले स्टार्टअपलाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने बताइन् । स्टार्टअपलाई संस्कृतिका रूपमा विकास गर्न सके मात्रा स्टार्टअप युनिकर्न भेट्न सकिने उनको भनाइ छ । प्यानल डिस्कशनलाई उद्यमी, कन्सल्ट्यान्ट तथा ट्रेनर सुमन शाक्यले मोडरेशन गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्यसचिव केवलप्रसाद भण्डारीले स्टार्टअपलाई प्रोत्साहन तथा विस्तार गर्न सरकारले छिट्टै नयाँ कार्यविधि ल्याउन लागेको बताएका छन् । उनले नयाँ कार्यविधिले अहिलेको समस्यालाई सम्बोधन गर्ने बताए ।

‘स्टार्टअपहरूले के मागेका छन्, अहिलेको आवश्यकता के हो ? त्यसअनुसार नीति बनाउनैपर्छ,’ उनले भने, ‘हामी सोहीअनुसारको कार्यविधि ल्याउन लागिपरेका छौं । र, त्यो कार्यान्वयन हुनसक्ने गरी बनाउँछौं । विगतमा जस्तो कार्यान्वयन नै नहुने समस्या अब हँुदैन ।’ स्टार्टअप उद्यमीलाई आवश्यक विधिबाट काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ । ‘सरकारले स्टार्टअपलाई विधिबाट काम गर्ने वातावरण बनाउनुपर्छ, गर्दै आएको पनि छ । साथै, फाइनान्सको सुविधा पनि दिएको छ,’ उनले भने, ‘यस वर्षका लागि १ अर्बको बजेट छ । तर, त्यतिले पुग्दैन, बढाउनुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यम विकास समितिकी उपसभापति माथेमाले नेपालमा स्टार्टअप उद्यमीहरूको तथ्यांक तयार गर्नुपर्ने बताइन् । सरकारी निकायबाट नै यस्तो तथ्यांक बनाउनुपर्ने र त्यसको आधारमा आवश्यक नीति बनाउनुपर्ने उनको भनाइ छ । उनले नेपालमा महिला स्टार्टअप उद्यमी पनि युनिकर्न बन्न सक्ने प्रतिबद्धता गरिन् ।

उनले नेपालमा कति समयभित्र स्टार्टअप युनिकर्न खोज्ने भनेर रोडम्याप बनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘स्टार्टअपलाई नै संस्कृतिका रूपमा विकास गर्नुपर्छ तब मात्र युनिकर्न भेट्न सम्भव छ । जुन देशमा युनिकर्न छ, त्यहाँ स्टार्टअप संस्कृति छ ।’ हाम्रो पात्रोका म्यानेजर अफ अपरेशन आश्रय दीक्षितले हाम्रो पात्रो नेपालको पहिलो युनिकर्न कम्पनी बन्ने लक्ष्य भएको बताए । हाम्रो पात्रो समाचार, वित्तीय र स्वास्थ्य सेवाको एकीकृत अनलाइन प्लेटफर्म बन्ने योजना पनि भएको उनको भनाइ थियो । दराजका एमडी लिनो आहलेरिंग र जेनेसी सोलुसोनकी अञ्जनी फुयालले नेपाल र विश्वमा प्रविधिमा आधारित व्यवसाय गर्नुको परिप्रेक्षबारे स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्