११ महीनामा १ लाख २६ हजारभन्दा बढी पर्यटक आगमन



काठमाडौं,मंसिर १९ । सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

नोभेम्बरमा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बंगलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए ।

सन् २०१९ को अक्टोबर र नोभेम्बरसँग तुलना गर्दा पर्यटक आगमन निकै कम छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महिनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए ।

यसरी पर्यटक आगमनको अवस्था हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको संख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेबु्रअरीमा अत्यधिक संख्यामा पर्यटक आएका थिए ।

यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महिनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।     

कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित
मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमन निराशाजनक देखिन्छ । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् । नेपाल सरकारले पनि उक्त भेरियन्टको जोखिमलाई ध्यान दिँदै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेको छ ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले विश्वव्यापी रुपमा चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई थप त्रसित तुल्याएको बताए । हल्ला अनुसार कस्तो प्रभाव हुन्छ, अहिले नै भन्न नसकिने भए पनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए । अहिले पनि जापान हिँडेका ११ नागरिक मलेसियामा गएर अड्किएको भन्दै उनले अध्यागमन, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले चनाखो भएर समयमै सही सूचना प्रवाह गर्नुपर्नेमा बताए ।

‘ओमिक्रोन भेरियन्टको हल्ला विश्वभर छ, तर नेपालले विशेष सावधानी अपनाउनुपर्छ, स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर अन्तरराष्ट्रिय उडान भने रोक्न हुँदैन,’ उनले भने । हाल जापान, इजरायल, अष्ट्रेलिया, बेल्जियम, अष्ट्रियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइसकेका छन् ।

बोर्डका निर्देशक लामिछानेले नयाँ भेरियन्टले डिसेम्बरमा पर्यटक आगमन घट्ने चिन्ता बढेको बताए । नयाँ भेरियन्ट डेल्टाभन्दा बढी सङ्क्रामक हुने हल्लाले पनि विश्व पर्यटन बजारलाई त्रसित बनाएको छ । नेपालमा अहिले कुनै जोखिम नरहे पनि दुई साताको परिणामको पर्खाइमा नेपाली पर्यटन क्षेत्र रहेको उनको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्