चितवन बन्दको प्रभाव सामान्य, १३ बन्दकर्ता पक्राउ



चितवन,मंसिर २८ ।  चितवन बन्दको प्रभाव सामन्य बन्दै गएको छ। एमसीसी सम्झौता खारेजीको माग गर्दै मंगलबार आह्वान गरिएको चितवन बन्दको प्रभाव सामान्य परेको हो । विभिन्न १३ वटा दल तथा समूह सम्मिलित एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिले सम्झौता खारेजीको माग गर्दै चितवन बन्दको आह्वान गरेका हुन् ।

बन्दको त्रासले बजार क्षेत्रमा पसल र विद्यालयहरू खुलेका छैनन् । लामो दुरीका मालबहाक र यात्रुबहाक सवारी साधनहरू पनि तुलनात्मक रुपमा कम चलेका छन् । छोटो दुरीका सवारीसाधन भने ठप्प छन् ।

पसल तथा सवारी साधनहरू बन्द गराउँदै हिँड्ने १२ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्तालाई नारायणगढको लायन्सचोक र पूर्वी चितवनको भण्डाराबाट नियन्त्रणमा लिएको हो ।

जबर्जस्ती बन्द गराउँदै हिँडेका बन्दकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा सन्देश पौडेल, प्रकाश ढकाल, बद्रीनाथ अधिकारी, डम्बर पुरी, राजुप्रसाद पौडेल, सुरेश गौतम र रेशम थापा रहेका छन् । त्यस्तै, अनिल परियार, कृष्ण सुनार, अशोक शर्मा, घननाथ सापकोटा, राम सेढाई र ओमप्रसाद डल्लाकोटीलाई पनि नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ परेकाहरूलाई साँझ रिहा गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्