पञ्चकन्या भलिबल प्रतियोगिता: अतिथिको गला भरिएको फूलमालाको भित्री कथा

नुवाकोट, मंसिर २९ । जिल्लास्थित पञ्चकन्या गाउँपालिकाको आयोजनामा आजदेखि ‘तेस्रो चेयरमेन कप भलिबल प्रतियोगिता सुरु भएको छ । पौष ३ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले गरेका हुन। ‘खेल र खेलाडीबाट सिकौं अनुशासन र स्वाभिमान, समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान’ भन्ने नारासहितको आयोजना भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष तामाङले समग्र पञ्चकन्या गाउँपालिकाको बिकासका निम्ति आफू हरतरहले लागि परेको बताएका छन् ।
पछिल्लो खेलकुद कार्यक्रम तामझामपुर्ण तरिकाले केन्द्रिय नेताको उपस्थितिमा उद्घाटन भएकोमा यस वर्ष भने गाउँपालिकाले ब्रेक गरेको छ। अध्यक्ष तामाङले हामीसंगको वार्तालापमा सधै केन्द्रको पर्खाइमा बस्न हुन्न, आफ्नो गाउँठाउँ बिकासको निम्ति आफै लागि पर्नुपर्ने बताए। उद्घाटन समारोहमा गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, स्थानीय विद्यालयका शिक्षक/विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियोे। प्रतियोगितामा आकर्षकको केन्द्र अतिथिको गलामा सजिएको माला रह्यो। गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र उपाध्यक्ष सीता पराजुली खड्काको गला भरिएको मालाको बारे सबैले चासो व्यक्त गरेका थिए।
यस पंक्तिकारले मालाको बारेमा चासो व्यक्त गर्दा फूलमाला गाउँपालिकाको वडा नम्बर ४ मा उत्पादन भएको वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले बताए। अध्यक्ष लामिछानेका अनुसार वडा नम्बर ४ मा रहेको थप्रेक पञ्चकन्या साना किसान कृषि महिला सहकारीले उत्पादन गरेको हो।
यस क्षेत्रमा फूल उत्पादनको उपयुक्त हावापानी भएकाले फूल उत्पादनमा सहकारी अगाडि बढेको बुझिएको छ। सो महिला सहकारीले आत्मनिर्भरका लागि प्रसस्त फूल खेती गरेको वडा नम्बर ४ ले जनाएको छ। उत्पादित फूलको उचित बजार ब्यवस्थापनका लागि सहकारीले राजधानी काठमाडौं सम्म लैजाने योजना बनाएको छ। यद्यपि गाउँपालिकाले बिबिध प्रयोजनमा खरिद गरि आयआर्जनमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।




तस्बिर श्रोत : पञ्चकन्या गाउँपालिका