मेलम्ची खानेपानीको आयोजनास्थलसम्म खोलियो सडक

काठमाडौं,पुस १ । मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउन आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायी रूपमा मर्मत गरेको हो ।
अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायी रूपमा सडक निर्माण गरिएको समितिले जनाएको छ । अहिले निर्माण भएको सडक आगामी वर्ष नै बाढीले क्षतिग्रस्त गर्नसक्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार तत्काल अस्थायी रूपमा पानी चलाउन सडक निर्माण गरिएको हो । अहिले निर्माण भएका सडक र पुल दुवै तत्कालका लागि र अस्थायी प्रकृतिको भएको उनले बताए । उनले भने, ‘अहिले भर्खर आयोजनाका संरचना मर्मत गरेर सञ्चालन गर्न मात्रै सडक खोलिएको हो ।’
आयोजनाका लागि र स्थानीय बासिन्दाका लागि पनि सडक दीर्घकालीन रूपमा निर्माण गर्न आवश्यक छ । आयोजनास्थलभन्दा माथिल्लो क्षेत्रबाट पहिरोको जोखिम रहेकाले त्यसको अध्ययन भइरहेको छ । आयोजनामा सहयोग गरेको दातृ संस्था एशियाली विकास बैंकले खानेपानी मन्त्रालयसँगको समन्वयमा अध्ययन गरिरहेको छ । अध्ययनका प्रतिवेदन आएपछि त्यसकै आधारमा दीर्घकालीन रूपमा सडक र पुल निर्माणमा जानुपर्ने उनको भनाइ छ । उनले भने, ‘माथिल्लो क्षेत्रको अध्ययन सकिएपछि हामीले अर्काे वर्ष पहिले नै स्थायी निर्माणमा जानुपर्छ ।’
अध्ययन प्रतिवेदन आएपछि त्यसैका आधारमा कति माथिबाट सडक र पुल निर्माण गर्न आवश्यक छ भनी टुंगो लाग्ने सूचना अधिकारी पन्तले बताए । दातृ निकायको अध्ययन टोलीले गरेको अध्ययनमा आगामी वर्ष पनि बाढी आउनसक्ने देखिएको छ । अध्ययनको अन्तिम प्रतिवेदनका आधारमा मात्रै स्थायी संरचनाका निर्माणको योजना बनाउन सकिने उनले बताए । उनले भने, ‘अहिले तत्काल हामीले आयोजनाका लागि ठूलो खर्च नगरेर अस्थायी रूपबाट पानी ल्याउन काम गरेका छौं ।’
उक्त सडक आयोजनास्थलमा पुग्न मात्रै नभएर स्थानीय बासिन्दाका लागि पनि आवश्यक छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण सडकमा क्षति पुगेको थियो । कतिपय ठाउँमा नदीले सडक नै कटान गरेकाले मर्मतमा लामो समय लागेको थियो । मङ्सिरको पहिलो साता आएको बाढीले थप क्षति पुर्याएको सडक तत्कालका लागि खुलाइएको छ । आर्थिक अभियानबाट