चिया किसानद्वारा हरियो पत्ती चियाको समर्थन मूल्य तोक्न आग्रह
इलाम, पुस ३ । उत्पादन लागतभन्दा बिक्री मूल्य कम हुने भएपछि इलामका चिया किसानले हरियो पत्ती चियाको समर्थन मूल्य तोक्न आग्रह गरेका छन् । रासायनिक मल र विषादी प्रयोग बढ्दै गएकाले अर्गानिक चियाको भविष्य अन्योल हुँदै गएको भन्दै किसानले अर्गानिक र गुणस्तरीय चियाको समर्थन मूल्य सरकारले तोक्नुपर्ने बताएका हुन् ।
चियाका ठूला व्यवसायीले किसानको चियामा ‘सिन्डिकेट’ गर्ने गरेको भन्दै गुणस्तरीय र अन्य कमसल किसिमको चियाको एउटै मूल्य दिने गरेकाले आफूहरूले लागत मूल्य नै नपाएको किसानको गुनासो छ । सूर्योदय नगरपालिकाको सुन्दर पानी चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक देवीकुमारी राईले यो सहकारीमा आबद्ध ११६ किसानले उत्पादन लागतभन्दा कम मूल्यमा चिया बिक्री गरिरहेको बताइन् ।
“हाम्रो सहकारीले गोर्खा टी स्टेटलाई हरियो पत्ती दिने गरेको छ । गोर्खाले अर्गानिक हरियो चियाको मूल्य वर्षभरि नै प्रतिकिलो ९१ रुपियाँ ५० पैसा दिने गरेको छ तर एक किलो हरियो पत्ती उत्पादन गर्न किसानको १५० देखि दुई सय रुपियाँ खर्च हुने गरेको छ,” राईले भनिन्। सरकारले मूल्य नतोक्दा पूर्ण अर्गानिक चिया उत्पादन गर्ने किसानले घाटामा चियाको हरियो पत्ती बेच्नुपरेको राईले बताइन् ।
सन्दकपुर गाउँपालिकाका चिया किसान विनोद खतिवडाले पनि आफूले अर्गानिक चिया उत्पादन गरे पनि अर्गानिक खेती नगर्ने किसानले पाउने मूल्यमै हरियो पत्ती बिक्री गर्नुपरेको गुनासो गरे ।
“आफ्नो बगान अर्गानिक छ, छिमेकीको बगानमा रासायनिक मल विषादी प्रयोग हुन्छ । त्यसको असरले अर्गानिक उत्पादन पनि अरूसरह बेच्नु बाध्यता छ,” खतिवडाले भने । सरकारले अर्गानिक चिया उत्पादनलाई संरक्षण र प्रोत्साहन नगर्ने हो भने नेपाली चिया विदेशमा बिक्री हुनै नसक्ने उनले दाबी गरे ।
तीन वर्षअघि आफ्नो नगर क्षेत्रभित्र लागू हुनेगरी चियाको समर्थन मूल्य तोकेको सूर्योदय नगरपालिकालाई समर्थन मूल्य लागू गराउन निकै धौधौ परेको छ । गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ कार्यान्वयन गर्न त्यो समयमा उद्योेगी, किसान, नगरपालिका सबै सहमत भएर कार्यान्वयनमा आएको थियो । कार्यविधिमा ४० प्रतिशत मुना हुनुपर्ने र त्यसको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ तोकिएको छ ।
उद्योगीले गएको सिजनमा पत्तीको गुणस्तर हेर्ने बहानामा चियाको मुना हेरेर एउटै मूल्य निर्धारण गरेपछि गुणस्तरीय पत्ती उत्पादन गर्ने किसानलाई बढी मार परेको सूर्योदय–१२ का किसान पारस राईले बताए ।
२०–३० किलो उत्पादन गर्दा र एक हजार किलो उत्पादन गर्दा हरियो पत्तीको गुणस्तर समान हुँदैन तर मूल्य भने एउटै हुने गरेको छ । राम्रो पत्ती र नराम्रो पत्तीको मूल्य एउटै दिएपछि गुणस्तरीय हरियो पत्ती उत्पादन गर्ने किसान मारमा पर्ने गरेको किसान राईको भनाइ छ ।
समर्थन मूल्य लागू गराउन अनेक प्रयास गरिरहेका सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले सरकारले धान, उखुको जस्तै चियाको मूल्य तोक्नुपर्ने बताए । “अर्थतन्त्रको महŒवपूर्ण हिस्सा बनेको नेपाली चियामा व्यवसायीको सिन्डिकेट छ । त्यसलाई तोड्न सङ्घीय सरकार नै अग्रसर बन्नुपर्नै अवस्था छ । समर्थन मूल्यअनुसार व्यवसायीले चिया खरिद गर्दैन भने किसानको चिया सरकारले खरिद गर्ने सम्मको नीति बनाउनुपर्छ,” राईले भने ।
चियाको क्षेत्रमा क्रियाशील नेपाल चिया तथा कफी विकास बोर्डले चियाको समर्थन मूल्य तोक्न लगाउने धेरै प्रयास गरिरहेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए । “हामीले उत्पादन लागत मूल्य पनि निकालेका छौँ । चियाको मूल्य तोक्न बोर्ड सक्षम छ तर सहमति आवश्यक छ,” डा. भट्टराईले भने। बोर्डले कफीको मूल्य निर्धारण गरेर लागू हुँदा अहिले कफी क्षेत्रमा उल्लेख्य प्रगति भएको उनले बताए ।

