दुप्चेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड, महोत्सवले दर्शनार्थीको मन तान्न सकेन



सीसीक्यामेरा जडित झिलिमिली दुप्चेश्वर मन्दिर परिसर

नुवाकोट,पुष ३ । धान्य पूर्णिमाको अवसरमा लाग्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्राटारस्थित दुप्चेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । खरानीटारमा राष्ट्रिय कलाकारको उपस्थितिमा महोत्सवको आयोजना गरेको बताइए पनि स्थानीयको मन भने दुप्चेश्वर मन्दिर तर्फ नै केन्द्रित भएको समुन्द्राटारका सागर तामाङले बताए।

शुक्रबारदेखि लागेको मेलाको मुख्य दिन आज शनिबार साँझ र आइतबार पूर्णिमाको बिहानी प्रहरसम्म पूजाआराधना गर्ने भक्तजनको सहभागिता उल्लेख्य वृद्धि भएको हो । विशेषत: एकादशीदेखि नै शुरु हुने दर्शनार्थीको घुइँचो कोरोना भाइरसको महामारी कम भएसंगै उल्लेख्य वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए । 

राउतबेंसीका स्थानीयवासी बासे तामाङ को गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले वाग्मतीको दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएका छन् । भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने , बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनी दुप्चेश्वरको प्रख्याति छ । 

धार्मिक ग्रन्थ अनुसार भने समुद्रमन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिनुभएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किंवदन्ती छ । यहाँ धान्य पूर्णिमा र फागु पूर्णिमामा विशेष मेला लाग्ने गरेको छ भने मेलामा तामाङ झाँक्री र तिनको ढ्याङ्ग्रो मुख्य आकर्षक रहदै आएको छ । 

गतवर्ष झै सीसीक्यामेराबाट दर्शनार्थीको निगरानी

दुप्चेश्वर गाउँपालिका–६ समुन्द्राटारमा अवस्थित मन्दिरमा धान्य पूर्णिमाका अवसरमा एकादशीदेखि शुरु भएको मेला चतुदर्शीको रात र पूर्णिमाको दिन बिहानसम्म लाग्नेछ। दुप्चेश्वर गाउँपालिकाले यस वर्ष मन्दिर व्यवस्थापनका लागि ५ लाख खर्चिएको छ ।

जस अन्तर्गत ३ सय ५० वटा बत्ती र १६ वटा सीसीक्यामेरा समेत जडान गरिएको वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष किशोर आचार्यले बताए। सीसीक्यामरा जडानसंगै गतवर्षदेखि आपराधिक क्रियाकलाप कम हुदै गएको र घटना पहिचान गर्न सहज भएको वडा नम्बर ६ का सदस्य राजकुमार श्रेष्ठले बताए ।

दुप्चेश्वर गाउँपालिका अध्यक्ष योवीन्द्रसिंह तामाङले यस वरिपरि पनि सदा वर्षझैं दर्शनार्थीको सुरक्षार्थ गाउँपालिकाले विशेष समय खर्चिएको बताए। उपाध्यक्ष अञ्जु आचार्यले मन्दिरमा दर्शन गर्न पुग्ने भक्तजनलाई रामतीसम्म यातायात, स्वास्थ्य शिविर, विशेष पूजाको व्यवस्था, खाना र बासको सहजता मिलाइएको बताइन् । 

तस्बिर साझापथ डटकम

हस्तकला सामग्री बेचबिखनमा कमी

दुप्चेश्वर मेलामा आकर्षकको रूपमा पाइने हस्तकला सामग्री बेचबिखनमा भने कमि आउने भएको छ। राष्ट्रिय निकुञ्जले धुपीजन्य बोटविरुवा कटानीमा प्रतिबन्ध गरेसंगै यसको बिक्रीवितरणमा समेत कमि आएको छ भने महँगो पर्न गएको छ।

महोत्सवले दर्शनार्थीको मन तान्न सकेन

गत मंसिर २४ गतेदेखि पुस ४ गतेसम्म संचालन गरिएको तादी महोत्सवले स्थानीयको मन समेत जित्न नसकेको खरानीटारका सुस्मिता थापाले बताइन्। उनका अनुसार महोत्सवमा स्टल सबै खाली रहेको देखिन्छ।

महोत्सवको नाममा पछिल्लो समय जिल्लाका केहि स्थानमा लुट मच्चिएकाले स्थानीयले कम महत्त्व राख्ने गरेको सरोकारवालाहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्