अमेरिकी प्रतिवेदन भन्छ : नेपालमा आतंकवादी संगठनको खतरा घट्यो तर जोखिम कायमै



काठमाडौं,पुस ४ । नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठनको खतरा घटेको तर जोखिम भने अझै कायम रहेको बिहीवार सार्वजनिक गरिएको एक अमेरिकी आधिकारिक प्रतिवेदनले औंल्याएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हालै सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तरराष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने जोखिम कायमै रहेको औंल्याइएको हो ।

त्यस्तो जोखिम हुनुमा भारतसँग खुला सीमा भएको र मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त हुनुलाई अमेरिकाले कारणका रूपमा उल्लेख गरेको छ । सन् २०१८ को प्रतिवेदनमा अमेरिकाले नेपाललाई आतंकवादीको उर्वर भूमिका रूपमा उल्लेख गरेको थियो । तर, अहिलेको प्रतिवेदनमा भने जोखिम मात्र औंल्याइएको छ ।

सन् २०१५ देखि २०१८ सम्मको प्रतिवेदनमा अमेरिकाले इन्डियन मुजाहिद्दिनले नेपालसम्म क्षेत्र विस्तार गरेको र नेपाल यो संगठनको हब रहेको बताएको थियो । तर, यसपटक भारतसँगको खुला सीमालाई सुरक्षा जोखिमको रूपमा चित्रित गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्यूरो अफ काउन्टर टेररिज्मले यस्तो प्रतिवेदन निकालेको हो । सन् २०२० मा नेपालमा अमेरिकाविरोधी कुनै आतंकवादी गतिविधि नभएको प्रतिवेदनमा उल्लेख छ ।

नेत्रविक्रम चन्दसमूह हिंसा त्यागेर शान्ति प्रक्रियामा आइसकेको उल्लेख गर्दै अमेरिकाले चन्द समूहले सन् २०२० मा गरेका हिंसात्मक गतिविधि जारी राखेको जानकारी दिएको छ । अघिल्लो प्रतिवेदनमा पूर्वआतंकवादी भनेको अमेरिकाले यसपटक भने पूर्वहिंसात्मक अतिवादी भनेर चन्दसमूहलाई सम्बोधन गरेको छ ।

आतंकवादलाई लिएर नेपालको आफ्नै खाले परिभाषा नरहेको भन्दै अमेरिकाले प्रतिवेदनमा मध्यपूर्वमा देखिएको आतंकवादी गतिविधिको असर नेपालमा समेत पर्न सक्ने जोखिम औंल्याएको छ ।

नेपालमा २०६० पछि दर्जनौं अन्तरराष्ट्रिय आतंकवादी संगठनका सदस्यदेखि मुख्य व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीले गोप्य राख्दै आएका त्यस्ता घटनामा पक्राउ परेका व्यक्तिविरुद्ध नेपालको प्रचलित कानूनबमोजिम कारबाही भएको छ ।

धेरैलाई नेपालले गोप्य रूपमा सम्बद्ध देशको जिम्मा लगाउने गरेको प्रहरी उच्च स्रोत बताउँछ ।

केही वर्षअघि मात्र आतंकवादी समूह लस्कर–ए–तोयबाका सदस्य नेपाल आएका थिए । उनले काठमाडौं, नेपालगञ्ज, रूपन्देही र कपिलवस्तुमा केही महीना बिताए । ती सदस्यले कपिलवस्तुबाट नागरिकता लिएको खुलेको थियो । नेपाल आगमनबारे जानकार नेपाल प्रहरीले उनका गतिविधि निगरानीमा राखेर सम्पर्क–सूत्र पत्ता लगाएको थियो । उनलाई पक्राउ गरी सरकारी छाप दस्तखत किर्तेमा कारबाहीसमेत गरिएको प्रहरी उच्च स्रोत बताउँछ ।

कारबाही किनारा लागेर सजाय भुक्तानपछि उनलाई गोप्य रूपमा सम्बद्ध देशको जिम्मा लगाइएको थियो । प्रहरीका अनुसार उनी दक्षिण एशियामा संगठन विस्तारका लागि नेपाल आएका थिए । प्रहरीले उनको साथबाट केही रकम र अन्य कागजपत्र बरामद गरेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्