बारा–पर्सा कोरिडोरमा बढ्दै डन्डी उद्योग



विद्युतमा सहुलियत पाए निकासी गर्न सकिने

वीरगञ्ज,पुस ७ । बारा–पर्सा औद्योगिक कोरिडोरको भौगोलिक अवस्थिति र रेलमार्ग जोडिएको सुक्खा बन्दरगाहसम्म कच्चा पदार्थ ढुवानी सहज भएपछि कोरिडोरमा फलामका डन्डी र अन्य निर्माण सामग्री बनाउने उद्योग खुल्नेक्रम बढेको छ ।

विगत ३ वर्षको अवधिमा यो कोरिडोरमा आधा दर्जनजति फलाम उद्योग थपिएका छन् । यस्ता उद्योगका संख्या डेढ दर्जन पुगिसकेको उद्यमी बताउँछन् ।

पछिल्लो समय वीरगञ्जमा खुलेको सर्वोत्तम स्टीलले परीक्षण उत्पादन जारी राखेको छ । यो अवधिमा खुलेका अन्य उद्योगले पनि क्षमता वृद्धि गर्न थालेका छन् । यो उद्योगले डण्डीको कच्चा पदार्थ बिलेट पनि आफै बनाउँछ ।

बारा–पर्सा औद्योगिक कोरिडोरलाई मुख्य आधार बनाएर उद्योग विस्तार गरिरहेको क्याल समूहले करीब ४ वर्षदेखि सञ्चालनमा ल्याएको नारायणी स्पातको क्षमता वृद्धिको योजना अघि बढाएको छ । यो समूहले यसैबीचमा डन्डी, जस्ता पाता, तार, जाली, ब्लकलगायत उद्योग सञ्चालनमा ल्याइसकेको छ ।

बारा–पर्सा औद्योगिक कोरिडोरमा निर्माण सामग्रीका उद्योगमा लगानी बढेको उद्यमी बताउँछन् । कोरिडोरमा खुलेका यस्ता उद्योगमा मात्रै २० अर्ब रुपैयाँभन्दा बढी लगानी पुगिसकेको अनुमान उद्यमीको छ । यो कोरिडोरमा अधिकांश यस्ता उद्योगले कच्चा पदार्थ बिलेट आयात गर्छन् ।

कोरिडोरमा उद्योगबीच पछिल्लो समय आपैm बिलेट उत्पादन गर्ने प्रतिस्पर्धा बढेको छ । अहिले जगदम्बा, नारायणी स्पात र सर्वोत्तमले बिलेट उत्पादन गर्छन् ।

मुख्य नाका र भौगोलिक रूपमा मध्यभागमा रहनुका कारण यो औद्योगिक कोरिडोर निर्माण सामग्री उत्पादनको केन्द्र बनेको उद्यमीको भनाइ छ । क्याल समूहका निर्देशक राजेश क्याल बारा–पर्सा कोरिडोरलाई निर्माण सामग्री उत्पादनको केन्द्रको रूपमा ब्रान्डिङ गर्न सकिने बताउँछन् ।

सरकारले यसका लागि नीतिगत रूपमा यस्ता उद्योगलाई प्रोत्साहन दिनुपर्ने उनको आग्रह छ । बढी विद्युत् खपत गर्ने फलाम उद्योगलाई विद्युत् खपतमा विशेष सहुलियत दिनुपर्ने क्यालको भनाइ छ ।

नेपालका विद्युत् खेर जाने अवस्था आएको भन्दै चिन्ता जाहेर भइरहेको बेलामा फलाम उद्योगलाई सस्तो दरमा उपलब्ध गराउँदा उत्पादनको लागत घट्ने र विद्युत्को खपत बढ्ने उनले गरे ।

विद्युत्मा सहुलियत पाएका यस्ता उद्योगले बिलेट उत्पादन बढाउने उद्यमीहरू बताउँछन् । अहिले आफै बिलेट उत्पादनमा लागेका उद्योगले समेत बिलेट आयात गर्नु परेको छ ।

बिलेट उत्पादनमा धेरै विद्युत् खपत हुने भएकाले महसुल सहुलियत पाएमा डन्डी उत्पादनको लागत घट्न जाने उद्यमीको भनाइ छ । सस्तो दरमा सस्तो विद्युत् दिएर लागत घटाएमा नेपालबाट निकासी गर्न सकिने केही उद्यमी बताउँछन् ।

अहिले यस्ता उद्योगबीच तीव्र प्रतिस्पर्धा पनि बढेको छ । स्वदेशी बजारको मागको भरमा परेर मात्रै स्वदेशी उद्योगका लागि पर्याप्त नहुने अवस्था देखिएकाले बा≈य बजारमा पहुँच विस्तार गर्नुपर्ने तर्क तराई स्टीलका सञ्चालक प्रदीपकुमार केडियाको छ ।

स्वदेशका उद्योगको उत्पादन लागत घटाउने उपाय सस्तो विद्युत् नै भएको दाबी उनको छ । मुख्य नाका वीरगञ्जसँगै जोडिएर रहेकाले कच्चा पदार्थको आयात सहज छ । यस क्षेत्रको भौगोलिक अवस्थिति मुलुकको मध्यभागमा भएकाले उत्पादनको ढुवानी र बजारीकरण पनि सहज हुने वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका केडिया बताउँछन् ।

यस्ता उद्योगको कुल उत्पादन लागतमा विद्युत् खपतको अंश २५ प्रतिशतसम्म हुने वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल बताउँछन् । विद्युत् खपतको खर्च न्यूनीकरण गर्न सकेमा यस्ता उत्पादनको लागत कम गर्न सकिने उनी बताउँछन् ।

विद्युत्लाई फलाम उद्योगको सहायक कच्चा पदार्थ मानेर विशेष सहुलित दिइनुपर्ने तर्क उद्यमीको छ । सरकारले स्वदेशमा उत्पादित विद्युत्का लागि बाह्य बजार खोजी गरिरहेका बेला निजीक्षेत्र भने स्थानीय उद्योगलाई नै सस्तो दरमा विद्युत् दिएर खपत बढाउन सकिने बताइरहेको छ । सरकारले खपतलाई प्रोत्साहन गर्ने नीति ल्याउने हो भने आगामी ३ वर्षमै थप ५ हजार मेगावाट विद्युत् खपत बढ्नसक्ने दाबी निजीक्षेत्रको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्