प्युठानमा खोरेत रोग उन्मुलन अभियान : ४० हजार पशुलाई खोप दिईने



प्युठान,पुस ७ । प्युठानका ४० हजार पशु चौपायालाई खोरेत विरुद्धको निशुल्क खोप दिइने भएको छ । खोरेत रोग नियन्त्रण तथा उन्मूलन गर्ने राष्ट्रीय अभियान अन्तर्गत यहाँका पशुचौपायालाई खोप दिन लागिएको हो। खोरेत जोखिम क्षेत्रका जिल्लाका नौवटै स्थानिय तहहरुमा यहि पुस महिनाको तेस्रो साताबाट खोरेतबिरुद्वको खोप लगाउने तयारी भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका प्रमुख बरिष्ठ वागवानी अधिकृत भाष्कर पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार खोप अभियान थाल्न सुरुआतमा पशु तथ्यांक संकलन, खोपको महत्वबारे प्रचारप्रसार र खोपकर्ता छनोट गरी अभिमुखीकरण गरिनेछ । यसपछि खोप लगाउन थालिनेछ । खोरेत रोगका कारण पशुपालक कृषकहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेकाले पशुलाई खोप लगाउने कार्यक्रम तय भएको पौडेलले बताउनुभयो। गाई, भैँसी लगायतका चौपायालाई किसानका गोठ र फार्ममा नै खोप लगाइनेछ ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्युठानका पशु विकास अधिकृत डा. हरि नारायण प्रसाद थारुले एक डोज दिएका पशुचौपायालाई तीन महिना भित्र वुष्ट डोज दिनुपर्ने भएकाले सो समेत गरी जम्मा ८० हजार डोज खोप प्युठान आइसकेको जानकारी दिनुभयो ।

कहा कति खोप ?
जिल्लाको सरुमारानी गाउँपालिकामा ६ हजार ३ सय, माण्डवी गाउँपालिकामा ४ हजार, स्वर्गद्धारी नगरपालिका ५ हजार ५ सय, प्युठान नगरपालिकामा ६ हजार, ऐरावती गाउँपालिका ३ हजार ७ सय, मल्लरानी गाउँपालिका ४ हजार, नौबहिनी ३ हजार ५ सय, झिमरुक गाउँपालिका ४ हजार र गौमुखी गाउँपालिकामा ३ हजार गरी ४० हजार पशुलाई भ्याक्सीन लगाइने एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्युठानका पशु विकास अधिकृत डा. थारुले जानकारी दिनुभयो।

खोरेत रोग के हो ?
एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्युठानका पशु विकास अधिकृत डा. हरि नारायण प्रसाद थारुका अनुसार खोरेत रोग गाई, भैसी, बंगुर लगायत अन्य खुरफट्टा जनावरहरुमा लाग्ने अति छिटो पिकोर्ना जातीको विषाणुबाट सर्ने सरुवा रोग हो । खोरेत रोग लागेको जनावरसंग संम्पर्क भएमा वा दुषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रुपमा फैलने गर्दछ । रोगको असर लामो समय सम्म रहन सक्दछ । यो रोगबाट संक्रमण हुन सक्ने जनावरहरुको समुहमा रोगले असर गर्ने प्रतिसत झण्डै १०० हुन सक्दछ । स्थानीय बयस्क गाई , भैसीहरुमा खोरेत रोग देखा परेतापनि यो रोगको कारण मृत्यु कमै हुने गर्दछ भने बाच्छाबाच्छी, पाडापाडी र बंगुरका पाठापाठीहरु खोरेत रोग लागि अत्यधिक संख्यामा मर्ने गर्दछन् ।

खोरेत रोगको लक्षण
१ ज्वरो आउने, ्याल चुहाउने, लंगडाउने ।
२ दुधालु गाई, भैसीको दुध उत्पादन घट्ने ।
३ मुख र खुरको कापकोे साथै थुतुनो र थुनमा पानी जस्तो तरल पदार्थ भरिएको साना साना फोकाहरु देखिने हुन्छ ।
४ ब्याउने पशुहरु तुहिन सक्ने र साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठीहरु मर्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्