नुवाकोटको कुण्डलादेवी मन्दिर परिसरमा भव्य पुजा तथा मेलाको तयारी

प्रकाश लामा
नुवाकोट, पुष ८। जिल्लाको पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको सिमाना रहेको कुण्डलादेवी मन्दिरमा मेला सुरु भएको छ। बिहीबार साँझदेखि सुरु भएको मेला शुक्रबार बिहान पञ्चबलीसहित पुजाआजासंगै मध्याह्न मेला समापन हुने स्थानीय अगुवा युवा रघुबिर तामाङले बताए ।
हरेक वर्ष मंसिर पुर्णिामा लगत्तै पर्ने कृष्ण चतुर्थीका दिन लाग्ने मेलामा स्थानीयको बाक्लो उपस्थिति रहेको छ। महाभुकम्प पश्चात् गत वर्षदेखि मन्दिर परिसर भासिएपछि मन्दिर सतहसम्म मिलाउन पिल्लर तथा ढलान गरिएसंगै व्रतालु तथा दर्शनार्थीलाई सहज भएको निर्माण समितिका अध्यक्ष समेत रहेका अगुवा युवा रघुबीर तामाङ बताउँछन्।
अध्यक्ष तामाङका अनुसार पञ्चकन्या गाउँपालिकाबाट प्राप्त २ लाख रकम र शिवपुरी गाउँपालिकाको १ लाख रकमले यस अघि नै ढलान कार्य सम्पन्न भैसकेको छ । त्यस्तै रेलिङ ब्यवस्थापनका लागि पञ्चकन्या गाउँपालिकाले गतवर्ष नै १ लाख १५ हजार खर्चिएको थियो ।
मन्दिर ढलान कार्यसंगै यस मन्दिरको थप शोभा समेत बढेको स्थानीयको भनाइ छ । जिर्ण अवस्थामा रहेको मन्दिरमा पिल्लर तथा ढलान कार्य सकिए पनि भक्तजनको सुरक्षार्थ रेलिङ निर्माणसंगै थप सहज भएको बताइएको छ।
गाउँकी देवीको रुपमा समेत परिचित कुण्डलादेवी मन्दिरको मेला बनपाले जात्राका रुपमा समेत परिचित रहेको छ। यस क्षेत्रका स्थानीयले दिनभर निराहार व्रत बसी साँझ यस मन्दिरमा भेला भइ भजन तथा किर्तन गाउने परम्परा चलिआएको छ। श्रद्दालु भक्तजनहरु नुवाकोटको शिवपुरी,पञ्चकन्या र काठमाडौदेखि समेत आउने गरेका छन् ।