सर्लाहीमा भएको विभिन्न सवारी दुर्घटनामा दुई जनाको मृत्यु



मलङ्गवा,पुस ११ । सर्लाही जिल्लामा गएराति छुट्टाछुटै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

मलङ्गवा–नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट ५५ वर्षीया सैफुल खातुनको मृत्यु भएको छ । बाटो काट्ने क्रममा शनिबार साँझ खातुनलाई साइकलले ठक्कर दिएको थियो । घाइते खातुनको जनकपुरमा उपचारका क्रममा गएराति ९ः३० बजे मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

साइकल चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । उता पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा नम्बर नखुलेको एक सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ना ३४ प ७०२१ नम्बरको मोटरसाइकलको पछि बसेका लालबन्दी नगरपालिका–७ बस्ने ५७ वर्षीय भीम गुरुङको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा पुर्याइएको थियोे । उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्