नुवाकोट पञ्चकन्या बेपत्ता प्रकरण: थप रहस्यमय बन्दै, अपहरणको आशंका



नुवाकोट, पुस १२ । नुवाकोट पञ्चकन्या गाउँपालिका २ कविलासका ४६ वर्षीय नारायण भण्डारी तीन दिनदेखि सम्पर्कविहीन छन् । परिवार तथा आफन्तजनको विभिन्न आशंकामा दिनमा भोक रातमा निद छैन। काठमाडौंमा अध्ययनरत छोरी शर्मिला गाउँमा फर्किएर बुबाको खोजी गरिदिन आफन्तजन र स्थानीय प्रशासनलाई हारगुहार गरिरहेकी छिन।

खोजीका लागि इलाका प्रहरी कार्यालय पञ्चकन्या र स्थानीयवासी लागी परिरहेको बेला मध्यान्ह भण्डारीको फोन अचानक खुल्यो र आफुलाई तुरुन्त भेट्न अनुरोध गरे। तर मोबाइल तत्काल बन्द भयो। खोजी कार्यमा लागिपरेका नाताले भतिजो पर्ने मछिन्द्र भण्डारीले भने- ‘दुई पटक फोन अन भयो, काकाले भेट्न अनुरोध गरे तर मोबाइल अफ भैहाल्यो, हामी गाउँका झन्डै ५०/६० जनाको संख्यामा उनले दिएको ठेगानामा खोजी पस्यौ तर सोमबार अबेरसम्म अत्तोपत्तो लागेन।’

नेपाली सेना समेत रहेका भतिजो भण्डारीले अब मोबाइलको ट्र्याकिङ र सिआईबीको सहयोग लिएको बताएका छन्।आफुलाई काकाको ईमानदार छवीप्रति कुनै आशंका नभएको बताउदै मछिन्द्र थप्छन्- यस्तो हर्कत केलाएर हेर्दा काका कसैको दवाब या अपहरणमा परेको जस्तो लाग्छ, हामी झण्डै एक सय को संख्यामा मान्छे खोजीमा खटाएका छौँ। तर अत्तोपत्तो लाग्दैन ।’

यता शर्मिलाले साझापथसँगको कुराकानीमा भनिन्, ‘घरमा कुनै झगडा पनि भएको थिएन । बुबा मानसिक रोगी पनि होइनन् । तर एक्कासी गत शनिबार राति घरबाट निस्किएछ्न । आफन्तहरु सबैतिर सोधखोज गरिसक्यौं । भेट्टाउन सकेका छैनौं ।’ 

शर्मिलाले घरमा खोजतलास गर्दा आफ्नो बुबाले एक पत्र लेखेर छोडेको समेत बताइन् उनले भनिन- बुबाले आफुलाई खोजेर नरुनु समेत लेखेका रहेछन्, तर वास्तविकता के हो अत्तोपत्तो छैन- शर्मिलाले भनिन- ‘बुबा जहाँ हुनुहुन्छ आउनुहोस् हामी आशुको सागरमा डुबेका छौ, भित्री ब्यवहारिक कठिनाइ भए हामी सबै मिलेर सहयोग गर्छौ।’

यसरी लेखिएको चिट भेटिएको भण्डारीका आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्