माओवादी केन्द्रको आठौं महाधिवेशन : युवालाई स्वदेशमै रोजगारी दिन १० बुँदे योजना प्रस्तुत

काठमाडौ,पुस १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवालाई स्वदेशमै रोजगारी दिनका लागि योजनाहरू प्रस्तुत गरेका छन् ।
आइतवारदेखि पार्टीको जारी आठौं महाधिवेशनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै युवा रोजगारका लागि १० बुँदे योजना ल्याएका हुन् । दाहालले अहिले युवालाई देशमै रोजगारी दिने विषयमा सरकारी नीति नै बाधक भएको टिप्पणी पनि गरे ।
उनले ल्याएको योजनामा हरेक पालिकामा कम्तीमा ५० जना व्यक्ति संलग्न गरी अनिवार्य एक कृषि उद्यम ६ महीनाभित्र स्थापना गर्ने छ भने स्थानीय बजारलाई ध्यानमा राख्दै खाद्यान्न, तरकारी, नगदेबाली लागायतका बजार सुहाउने उत्पादनमा जोड दिने अर्को योजना छ ।
ठूलो परिणाममा काम गर्न दुई वा दुईभन्दा बढी पालिकाले त्यस्ता उद्योग व्यवस्थाय सञ्चालन गर्ने, जिल्ला तहमा पालिकास्तरका उद्यमीबीच समुन्वय गराउने र बजार व्यवस्थामा सहयोग गर्ने, जिल्लास्तरबाट प्राविधिक सहयोगको व्यवस्था गर्ने, पूर्वाधार निर्माणमा पालिका, जिल्ला र प्रदेशहरूको समन्वय गर्ने, प्रदेशले जिल्लाबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग गर्ने अन्तरजिल्ला समन्वय गर्ने गराउने, प्रदेशले प्रदेश कम्तीमा १०० जनालाई रोजगारी दिन गरी उद्योग स्थापना गर्ने छ ।
केन्द्रमा केन्द्रीयस्तरको प्रशिक्षण केन्द्र बजार व्यवस्था र उद्योग व्यवसाय पहिचान गर्ने, पार्टीका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा एकपटक स्थानीय जनसमुदायसँग बसेर काम गर्नेजस्ता योजना दाहालले प्रस्तुत गरेका छन् ।
माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि सोमवार गहन छलफल भएको छ ।
प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको थियो । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएका थिए । जारी महाधिवेशनले प्रस्ताव पारित गरेमा दाहालका योजनाहरू लागू गर्ने प्रक्रियामा अघि बढ्ने माओवादी नेताहरू बताउँछन् ।
अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले अध्यक्ष दाहालको प्रतिवेदन आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधान गर्नेगरी आएको बताए । महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले माओवादी केन्द्र महाधिवेशनपछि थप बलियो भएर अघि बढ्ने जिकीर गरे ।
नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले सोमवार अन्तरिम विधानसमेत प्रस्तुत गरेका थिए । नयाँ नेतृत्व चयनसहित माओवादीको महाधिवेशन पुस १५ मा सकिनेछ ।