भारतबाट आएको स्कर्पीयो गाडी रौतहटमा दुर्घटनाः पाँच जनाको मृत्यु

रौतहट,पुस १३ । भारतबाट आएको स्कर्पीयो गाडी रौतहटमा दुर्घटना भएको छ। जन्ती बोकेको सो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनील मल्लले जानकारी दिए ।
उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए ।
‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’ बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको उल्लेख छ।