लगातार वर्षाका कारण छहरे -टोखा सडकखण्ड पुर्णरुपमा अवरुद्ध

नुवाकोट,पुस १४ । लगातार वर्षाका कारण छहरे -टोखा सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ। यसअघि यस सडकखण्डको सिस्नेरी भीर कटिङ भैरहेकाले आंशिक अवरुद्ध भएको थियोे । लगातार वर्षाले सडकखण्डको सुनखानी ग्रामीणदेवी विद्यालय हुँदै चापको बोट तय गरिएको वैकल्पिक सडकखण्ड पुर्णरुपमा ठप्प भएको हो।
वैकल्पिक सडकखण्ड समेत हिलाम्मे र भिरालो भएकाले सो सडकमा तत्काल सवारीसाधन आवागमन नगर्न प्रहरीले अनुरोध गरेको छ। कतिपय भाडाका साना तथा ठुला गाडीहरू बिहानैदेखि नुवाकोट गन्तव्य तय गरि भित्रिएकाले यात्रुहरु बिचैमा अलपत्र परेका छन् ।
मुल सडक निर्माणका कारण बन्द भएको र वैकल्पिक बाटो भिरालो र हिलाम्मे भएका कारण यस सडक हुँदै नुवाकोट प्रवेश नगर्न नगराउन गुर्जे प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक(असई) बिचारी श्रेष्ठले अनुरोध गरेका छन् । उनले साझापथसंगको कुराकानीमा भने – ‘बिहानैदेखि हामी सवारीसाधनलाई प्रवेश नगर्नु भन्यौं, अटेर गर्ने कतिपय सवारीसाधन थानाभञ्ज्याङ्ममा रोकिएका छन्।’ असई श्रेष्ठले मौसम अनुकुल नभई यात्रा जोखिमपूर्ण हुने बताए ।
यता स्थानीयले सिस्नेरी भीर खण्डमा निर्माणाधीन सडकका ढुङ्गा पन्छ्याई बाटो सुचारु हुनुपर्ने माग राखेका छन्। यद्यपि सडक निर्माणको जिम्मा पाएको सिसन निर्माण सेवाले निर्माणाधीन सडक तथा भीर कटिङका ढुङ्गा तत्काल पन्छ्याउन जस्ता जोखिमपूर्ण कार्य लगातार वर्षा भैरहेकाले गर्न नसकिने जनाएको छ।