छहरे-टोखा सडक अझै अवरुद्ध, मूल सडक खुलाउन दुई साता लाग्ने



नुवाकोट,पुस १५। लगातार वर्षाका कारण अवरुद्ध छहरे -टोखा सडकखण्ड अझै खुल्न सकेको छैन। लगातार परेको वर्षाका कारण निर्माणका चरणमा रहेको सो सडकखण्डको वैकल्पिक बाटो पुर्णरुपमा बन्द भएको हो।

यसअघि यस सडकखण्डमा सिस्नेरी भीर कटिङ भैरहेकाले सडकखण्ड आंशिक अवरुद्ध गराई वैकल्पिक सडक खण्ड सुनखानी ग्रामीणदेवी माध्यमिक विद्यालय हुँदै चापको बोट यात्रा तय गरिएको थियोे । पछिल्लो वर्षाका कारण सो वैकल्पिक सडकखण्डमा सवारी आवागमन बन्द भएको छ।

सो वैकल्पिक सडकखण्ड हिलाम्मे र भिरालो सतह रहेकाले सडकमा तत्काल सवारीसाधन आवागमन नगर्न प्रहरीले अनुरोध गरेको छ। कतिपय साना तथा दुई पाङ्ग्रे सवारीसाधन समेत वैकल्पिक सडकखण्ड हुँदै ओहोरदोहोर गर्न अत्यन्त सकस भएको उनीहरु बताउँछन् । ठुला सार्वजनिक तथा निजि गाडीहरू बुधबारदेखि यस सडक हुँदै ओहोरदोहोर गर्न सकेका छैनन् । गन्तव्य तय गरेका यात्रु भने बिचैमा अलपत्र पर्ने गरेको होटल थानाभञ्ज्याङ्का नारायण गुरुङले बताए ।

मुल सडक निर्माणका कारण बन्द भएको र वैकल्पिक बाटो भिरालो र हिलाम्मे भएका कारण यस सडक हुँदै नुवाकोट प्रवेश नगर्न नगराउन गुर्जे प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक(असई) बिचारी श्रेष्ठले अनुरोध गरेका छन् । उनले साझापथसंगको कुराकानीमा भने – ‘घाम लागे वा पानी नपरेको खण्डमा शुक्रबारसम्म सवारीसाधन सञ्चालन हुनसक्ने असई श्रेष्ठले बताए ।

यता स्थानीयले सिस्नेरी भीर खण्डमा निर्माणाधीन सडकका ढुङ्गा पन्छ्याई बाटो सुचारु हुनुपर्ने माग राखेका छन्। यद्यपि सडक निर्माणको जिम्मा पाएको सिसन निर्माण सेवाले निर्माणाधीन सडक तथा भीर कटिङका ढुङ्गा तत्काल पन्छ्याउन जस्ता जोखिमपूर्ण कार्य तत्काल गर्न नसकिने जनाएको छ।

आम जनगुनासोका आधारमा बुधबार सडक डिभिजनका इन्जिनियरको एक टोलीले सो सडक कटिङ क्षेत्र अवलोकन गरेको छ। सडक डिभिजन नुवाकोटका इन्जिनियर रामप्रसाद पौडेल र श्याम चौधरीले बुधबार अवलोकन गरी कटिङ क्षेत्रमा सवारीसाधन रोक्ने र बन्द गर्ने गर्दा नसोचेको दुर्घटना समेत हुनसक्ने भएकाले तत्काल पुरानै नियम अनुसार निर्माणलाई पुर्णता दिनुपर्ने बताएको सिसन निर्माण सेवाले जनाएको छ।निर्माण सेवाकी सुजिता शाक्यले हामी संगको कुराकानीमा भनिन- ‘दवाब दिनेले भोलिको जिम्मा लिदैनन, एकछिन रिस पोख्छन् केहि भैहाले कोही बोल्दैनन्।’

केही महिनाअघि बाटो अलपत्र छोड्यो, जोखिम भयो भन्नेले नै आज बाटो सुचारु गर्न भन्दै कराई रहेको शाक्यले बताइन् ।’बाटो खुलाएको समयमा माथिबाट ढुङ्गा खसे क्षतिको जिम्मा कस्ले लिन्छ? त्यसैले १५/ २० दिन सकस लिनुहोस त्यसपछि बाटो फराकिलो तथा भीर कटिङ सकिन्छ।’- शाक्यले भनिन् ।

प्रतिक्रिया दिनुहोस्