विद्युत् आपूर्तिमा देखिएको समस्या उपत्यकामा मात्रै हो, शुक्रवारदेखि नियमित हुन्छ : विद्युत् प्राधिकरण
काठमाडौं,पुस १७ । पछिल्लो केहि दिनदेखि देखिएको विद्युत् आपूर्तिको समस्या शुक्रवार बेलुकादेखि समाधान हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ।
मंगलवार बेलुका काठमाडौं उपत्यकामा एकैपटक करिब १०० मेगावाट विद्युत् माग थपिएर ट्रान्फरमरको क्षमताले धान्न नसक्दा विद्युत् आपूर्तिमा अवरोध आएको थियो।
मंगलवार रातीदेखि बुधबार दिनभर नै वर्षा भएका कारण समयमै मर्मत गर्न नसकिएको स्पष्ट पार्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रवार बेलुकासम्म सबै ठाउँको लाइन सुचारु हुने बताए।
शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा विद्युत् माग बढ्ने प्रक्षेपण गरेपनि एउटा कुनै निश्चित क्षेत्रमा ह्वात्तै माग बढ्छ भनेर प्राधिकरणले अनुमान नै गर्न नसकेको घिसिङले बताए।
एउटै क्षेत्रमा ह्वात्तै माग बढेपछि वितरण ट्रान्सफरमरले धान्न नसक्दा आपूर्तिमा अवरोध आएको उनको भनाइ छ। उपत्यकामा इमाडोल, बानेश्वर, रत्नपार्क र महाराजगञ्जका २०/३० ओटा ठाउँमा समस्या आएपनि अधिकांस ठाउँमा बुधवार र बिहीवार नै लाइन सुचारु भइसकेको घिसिङले बताए।
सिंहदरवारको भने फिडरमै समस्या आएपछि अनामनगरदेखि डिल्ली बजार सम्मको क्षेत्रमा लामै समय विद्युत् आपूर्ति दिन नसकिएको पनि उनले बताए।
उपत्यका एकैपटक ५०/६० ओटा ट्रान्सफरमरमा समस्या आएको थियो। केही ठाउँमा हामिले तत्कालै ठूलो क्षमताका ट्रान्सफरमर लगेर राखेपनि धेरै ठाउँमा भने ३०० केभी कै ट्रान्सफरमर प्रयोग भइरहेको अवस्थामा त्याहाँ ठूलो ट्रान्सफरमर राख्न नसकिएको र अर्को ट्रान्सफरमर राख्न स्थानीयले नदिएको घिसिङले बताए।
ट्रान्सफरमर राखेर केहि पनि समस्या नहुने भन्दै स्थानीयलाई आवश्यक परेको ठाउँमा ट्रान्सफरमर राख्ने कुरामा सहयोग गर्न पनि उनले आग्रह गरे।

