जहाज खरीद गर्ने विषयमा गृहकार्य भइरहेको छ : मन्त्री आले
काठमाडौं,पुस १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरीद गर्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् ।
शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरीद गर्ने योजना छिटोभन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताए ।
उनले जहाज खरीदका लागि गृहकार्य अगाडी बढेको बताए । जहाज खरीदमा कुनैपनि प्रकारको कमिशनको खेल नगर्ने भन्दै उनले अनियमितता भएमा आफू झुण्डिन तयार रहेको बताए । मन्त्री आलेले ग्राउण्डेड भएको जहाजहरुलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी गराए ।
उनले भैरहवा अन्तरराष्ट्रिय विमानस्थल तीन महीनाभित्र उद्घाटन हुने बताए । भैरहवा विमानस्थललाई सरकारले छिटोभन्दा छिटो टेष्ट फ्लाइट सञ्चालनमा ल्याउन चाहेको मन्त्री आलेले बताए ।

