नेपालगन्ज नाकामा एकै दिन तीन महिलासहित १० जनामा कोरोना पुष्टि



बाके,पुस १९ । भारतको हरिद्वारबाट आउँदै गरेका पलाटा गाउँपालिका ९, कालिकोटका ३५ बर्षिय महेन्द्र बमले नेपालगन्ज नाकामा कोरोना जाँच गराए । एन्टिजेन मार्फत कोरोना जाँच गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनीसँगै आएका कालिकोटका थप तीन जनामा पनि कोरोना पुष्टि भएको जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) का कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

नेपालगन्ज नाकामा सोमवार मात्र १० जनामा कोरोना पुष्टि भएको छ । कामका लागि भारत गएर फर्किने नेपालीको एन्टिजेन मार्फत कोरोना जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको उनले बताए । पछिल्लो दुई दिनयता भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण देखिएको बताए । आइतवार भारतबाट फर्किदै गरेका एक पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

भारतबाट आउँदै गरेका कालिकोटका चार, दाङका तीन, बाँकेका दुई र कैलालीका एक जनामा कोरोना पुष्टि भएको उनले बताए । ति मध्ये तीन जना महिला हुन् । कोरोना पुष्टि भएका चार जना हरिद्वार, तीन जना दिल्ली तथा उत्तर प्रदेशको सरदमुकाम लखनऊ र महाराष्ट्रबाट आएका एक–एक जनामा रहेको उनले बताए । ‘एन्टिजेन विधिमार्फत तीन सय जनाको कोरोना जाँच गर्दा १० जनामा पुष्टि भएको छ,’ उनले भने ।पुष्टि भएका ९ जनालाई भेरी अस्पतालको कोरोना वार्डमा र एक जनालाई खजुरा गाउँपालिका १, राधापुरस्थित आइसोलेशन सेन्टरमा पठाइएको हेल्थ डेस्कका ल्याव इन्चार्ज चिरन्जिवी ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्