चिसो बढ्यो, नेपालगन्जका चोक चोकमा आगो ताप्ने ब्यवस्था
नेपालगन्ज, पुस २० । अत्याधिक जाडो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले मुख्य चौकहरुमा आगो ताप्ने ब्यवस्था गरेको छ । मंगलबार साँझ त्रिभुवन चौकबाट यसको सुरुवात गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, प्रमुख जिल्ला अधिकारी सुर्यवहादुर खत्री, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारी लगायतको उपस्थितीमा नेपालगन्जका मुख्य चौकमा आगो ताप्ने ब्यवस्था गरिएको हो ।
आगो ताप्नका लागि डम सहित मुख्य चौकहरुमा सुरक्षितरुपमा दाउरा बाल्ने ब्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार मंगलबार ५० वटा डमसहित चौकहरुमा दाउरा सहित आगो ताप्ने ब्यवस्था मिलाइएको छ ।
बुधबारदेखि आवश्यक थप स्थानमा समेत आगो ताप्ने ब्यवस्था मिलाइने सुवेदीले बताउनुभयो । अत्याधिक चिसो र शितलहर भएपछि नगरबासीलाई राहत पुगोस भन्ने उद्देश्यले मुख्य चौकहरुमा दाउरा वितरण सहित आगो ताप्ने ब्यवस्था गरिएको छ । जाडो अवधीभर आगो ताप्ने ब्यवस्था मिलाइने जानकारी दिँदै सुवेदीले विपन्न समुदायका लागि थप राहत र सहयोगका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी खत्रीले शितलहरबाट नागरिकलाई प्रभावित हुन नदिन स्थानीय तहले गर्ने प्रयासमा सहयोग र समन्वय प्रशासनका तर्फबाट हुने बताउनुभयो ।

